भ्रष्टाचार विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

 माघ २८, २०७९ शनिबार १२:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार आज प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । 

उहाँले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनु भयो । संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत् सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढङ्गले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो । 

उहाँले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाउनु भयो । 

उहाँले सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सदाचार अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत् सेवा प्रदायक र सेवाग्राही बीचको प्रत्यक्ष सम्पर्कलाई घटाइ सेवा प्रवाहमा हुनसक्ने ढिलासुस्ती, हैरानी र अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाइ काम थालनी भइसकेको दाबी गर्नुभयो । उहाँले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र सङ्घको पक्ष राष्ट्रको हैसियतले भ्रष्टाचारविरुद्धको विश्वव्यापी प्रयासमा ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपाल सरकार दृढ सङ्कल्पित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकास र सुशासन एक अर्काका परिपूरक हुन् । नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ । संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत् सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढङ्गले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्नेछ ।'

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले लिएका लक्ष्यहरु आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । उहाँले आयोगको क्षमता विकास, दक्षता अभिवृद्धि, उच्च प्रविधिको प्रयोग र तथ्यपरक अनुसन्धान प्रणालीको अवलम्बन अनिवार्य रहेको बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया