भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति भण्डारी

 माघ २८, २०७९ शनिबार १२:५१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले देश र संविधानप्रतिको निष्ठा एवं नागरिकप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमानदारिता र सदाचारको भावना विकास हुने भन्दै देशको उच्चतम् हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने दाबी गर्नुभयो । उहाँले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले देशको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरुमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताउनु भयो । उहाँले संस्थागत रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भयो।

उहाँले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वाभाविक रुपमा लिँदै संविधान र कानुनले निर्दिष्ट गरेका दायित्वहरु पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले प्रशासनिक निकाय र नेतृत्वको जिम्मेवारी एवं जवाफदेहीता अभिवृद्धिका लागि विद्यमान ऐन, कानुनको पालनामा जोड दिनु आवश्यक रहेको उल्लख गर्दै राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवम् एकताबद्ध प्रयासले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गर्न सक्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘देशमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य छ । देश र संविधानप्रतिको अविचल निष्ठा एवं नागरिकप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमानदारिता र सदाचारको भावना विकास हुन्छ । आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराइ भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्छ।’ 

राष्ट्रपति भण्डारीले सार्वजनिक निकाय र पदाधिकारीले सदाचार पद्धतिको अवलम्बनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले जननिर्वाचित तीन तहकै सरकार, राज्यका सबै अङ्गहरु र निजी क्षेत्र, नागरिक समाज तथा नागरिकको सहयोग र सहकार्यबाट भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हासिल हुनसक्ने बताउनु भयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया