एउटा बैंकको अगाडि लाचार देखिए राष्ट्र बैंक र धितोपत्र बोर्ड

 फागुन ३, २०७९ बुधबार १४:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सामु नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लाचार र निरीह देखिएका छन् । 

एकीकृत कारोबार सुरु गरेको ३ दिनपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रकाशित गरेको द्वैमासिक प्रतिवेदन अपत्यारिला तथ्यले भरिएको भए पनि नेपाल राष्ट्र बैंकले कुनै स्पष्टीकरण सोधेको छैन । स्मरणीय छ, एकीकृत कारोबार सुरु हुने अघिल्लो दिनसम्म गाभ्ने बैंकले गाभिएका बैंकको एकीकृत कारोबार सुरु हुने दिनसम्मको कारोबार सार्वजनिक गरेका थिए । मर्जरको सम्झौता गरेपछि अलग–अलग कारोबार गर्दा कुमारीले एनसीसीको, ग्लोबल आईएमईले बैंक अफ काठमाण्डौको र प्रभुले सेञ्चुरी बैंकको एकीकृत कारोबारको विवरण सार्वजनिक गरे पनि नेपाल इन्भेस्टमेन्टले मेगा बैंकले पुस २६ गतेसम्मको वित्तीय विवरण सार्वजनिक गरेन । 

दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा मेगा बैंक ३ अर्ब रुपैयाँभन्दा धेरै घाटासहित गाभिएको विवरण सार्वजनिक भयो, त्यो पनि विवरणविना । पहिलो त्रैमासमा ५० करोडभन्दा धेरै नाफा गरेको मेगाको घाटा ३ महिनामा ३ अर्ब रुपैयाँभन्दा धेरै हुनु के राष्ट्र बैंकलाई स्वाभाविकै लागेको हो ? अस्वाभाविक लागेको हो भने त्यत्रो घाटाको वित्तीय विवरणबारे राष्ट्र बैंकले किन सोधपुछ नगरेको ? अनि ३ अर्ब घाटामा रहेको बैंकको शेयरलाई नेपाल इन्भेस्टमेन्ट बैंकले ९० प्रतिशत स्वाप रेसियो के का आधारमा दिएको हो ? गाभिएको बैंकका अधिकृतहरू सर्वसाधारणलाई यो प्रश्नको जवाफ नदिएरै बसेका छन् ।  

मर्जर भएर एकीकृत कारोबार सुरु गरेको १५ दिनसम्ममा शेयर मिलान, धितोपत्रको पुनः दर्ता, अभौतिकीकरण र सूचीकरणका सबै काम सक्नुपर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन उल्लङ्घन गरेकै २० दिन भइसक्यो । निर्देशन नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पूरा गर्नु त परै जाओस्, तोकेको समयपछि अर्को २० दिन गुजारी सकेको छ । धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को बुँदा ९ अनुसार अरू बैंकहरूले १५ दिन पूरा हुनासाथ सबै प्रक्रिया पूरा गरे । यी प्रक्रिया पूरा गरेका बैंकहरूको शेयर अहिले धितोपत्र बजारमा कारोबार भइरहेको छ । 

तर एकीकृत कारोबार सुरु भएको ३५ दिन बित्दा पनि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १५ दिनभित्र शेयर मिलान, धितोपत्रको पुनः दर्ता, अभौतिकीकरण र सूचीकरणको काम नसक्दा र उल्टै अर्को २० दिन गुजार्दा पनि नेपाल धितोपत्र बोर्ड मौन बसेको देखिन्छ । 

एकीकृत कारोबार सुरु हुनुअघि हेर्नुपर्ने वित्तीय विवरणमा नेपाल राष्ट्र बैंकले आँखा चिम्लेको र गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ कार्यान्वयन नगरि धितोपत्र बोर्ड चुप लागेको देख्दा धेरैको मनमा प्रश्न उठेको छ, के नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बाेर्ड नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगाडि लाचार र निरीह नै भएका हुन् ?

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया