एनसेलको सहकार्यमा आयोजित ह्याकाथनमा 'टिम कोड क्राफ्टर्स' ले जित्यो प्रथम पुरस्कार

 फागुन ३, २०७९ बुधबार १६:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेशनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन 'ह्याकिङ फर ह्युम्यानिटी सफलताका साथ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने साेलुसनहरूमा काम गरेका छन् ।

यस ह्याकाथनको अन्तिम दिन आइतवार सम्बन्धित समूहहरूको पिचिङपछि विजयी समूहहरूको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले १ लाख ५० हजार रुपैयाँ नगदसहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले साङ्केतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोस्रा स्थानमा रहन सफल भई १ लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेस्राे स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्न सफल बनेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरूलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरूमा रचनात्मकता बढाउन सहयोग गरेको बताउनुभयाे । 

एनसेलले विविधता, समानता र समावेशीकरण (डीईआई) प्रति आफ्नो प्रतिबद्धता अनुरूप महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उद्देश्यअनुसार शिक्वल फाउन्डेशनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा साझेदारको रूपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरूलाई एकसाथ नवीन सोलुसन्सहरू विकासका लागि अवसर प्रदान गरेको थियो ।

माघ २७ देखि २९ गतेसम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरूमा टक कार्यक्रम र कार्यशालाहरू आयोजन गर्दै सहभागी छात्राहरूलाई आफ्नो प्रोजेक्टको विकासका लागि चाहिने सिपहरू प्रदान गरियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरूले तेस्रो दिन आइतवार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरूबाट प्रशिक्षण पाएका थिए ।

शिक्वल फाउन्डेशनका सह–संस्थापकहरू आस्था शर्मा र मेलिशा घिमिरेले सहभागी सबैलाई उनीहरूकाे उत्साह र कडा परिश्रमका लागि कृतज्ञता व्यक्त गर्नुभयाे र आउँदाे ह्याकाथनका लागि तत्पर रहेको बताउनुभयाे । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो ।

महिलाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व र आबद्धता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया