टर्की भूकम्प : २ सय २७ घण्टापछि ७४ वर्षकी वृद्धाको उद्धार

 फागुन ३, २०७९ बुधबार १८:४४:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार भएको छ । टर्कीमा अघिल्लो सोमवार अर्थात् फेब्रुअरी ६ मा गएको पहिलो भूकम्पको केन्द्रविन्दु नजिकै काहरामनमारासमा उद्धारकर्ताहरूले एउटा भवनको भग्नावशेषबाट ती वृद्धालाई जीवितै उद्धार गरेका कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

त्यही सहरमा भूकम्प गएको दुई सय २२ घण्टापछि पनि एक जना ४२ वर्षकी महिलाको भग्नावशेषबाट जीवितै उद्धार भएको थियो । अदियामान सहरको सात तले अपार्टमेन्टको भग्नावशेषबाट भवन भत्किएको दुई सय १२ घण्टापछि एक ७७ वर्षकी वृद्धाको जीवितै उद्धार भएको छ । टर्कीमा भूकम्प गएको दुई सय पाँच घण्टापछि जीवितै उद्धार गरिएका मानिसहरूको सङ्ख्या कम्तीमा ११ जना पुगेको छ । 

टर्कीमा अघिल्लो सोमवार अर्थात् १० दिनअघि बिहान ७ दशमलव ८ रेक्टर र दिउँसो ७ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म टर्कीमा ३५ हजार चार सय १८ जना र सिरियामा पाँच हजार आठ सय जना गरी ४१ हजार दुई सय १८ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न उद्धारकर्मीहरूले अझै प्रयास गरिरहेका छन् ।

प्रारम्भिक अनुमानअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियाको क्षतिको आँकलन भइसकेको छैन । टर्कीको तुलनामा सिरियाको स्थिति अझै दयनीय बनेको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन् । विद्रोहीको पकड रहेको उत्तर–पश्चिमी सिरियामा उद्धारको काम सकिएको भन्दै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका झन्डै दुई करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताउनुभएको एएफपीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया