लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी सुरु

 फागुन ३, २०७९ बुधबार २०:२४:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९ सुरु भएको छ ।

'साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ' भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उद्घाटन गर्नुभएको हो । याे प्रदर्शनी आउँदाे १३ गतेसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र बलियो बनाउनका लागि र स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योग एवम् स्थानीय किसानले उत्पादन गरेको वस्तुहरूको बजारीकरणका लागि यस प्रदर्शनीले भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । यस प्रदर्शनीले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क स्टल उपलब्ध गराएको भन्दै मन्त्री शर्माले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । 

मन्त्री शर्माले दाङ साना उद्योग र कृषिको क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन सबैमा अनुरोध गर्दै स्थानीय उत्पादनले रोजगार सिर्जना गर्ने बताउनुभयो । उहाँले दाङको विकासका लागि आफू सबैसँगको सहकार्यमा लागिरहेको पनि बताउनुभयो । घोराही–तुलसीपुर चार लेन सडक निर्माणकाे काम अलपत्र रहेकाले यसको समाधानका लागि लागिरहेकाे उहाँकाे भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजु खनालले कृषि उत्पादनलाई प्राथमिकता दिएर यस्ता प्रदर्शनीहरूले बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया