ग्लोबल आईएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा २५ लाख रुपैयाँ सहयोग

 फागुन ५, २०७९ शुक्रबार २०:२१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंकले नेपाल प्रहरीलाई 'नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष' स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्लोबल आईएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच छात्रवृत्ति अक्षय कोष स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि बैंकले रकम हस्तान्तरण गरेकाे हाे । शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेनदार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामका लागि ग्लोबल आईएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गर्नुभयो । महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैंकलाई विशेष धन्यवाद दिँदै आउँदा दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रहेको बताउनुभयाे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित सङ्गठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा समेत सहयोग र सहकार्य आदानप्रदान हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया