'हाम्रो पात्रो' को डिजिटल वालेट 'हाम्रो पे' सार्वजनिक

 फागुन ७, २०७९ आइतबार १३:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डो – लोकप्रिय माेबाइल एप 'हाम्रो पात्रो' ले आफ्नाे नयाँ डिजिटल वालेट 'हाम्रो पे' सार्वजनिक गरेकाे छ । शुक्रवार काठमाण्डाैमा एक कार्यक्रम आयाेजना गर्दै 'हाम्राे पात्राे' ले डिजिटल वालेट 'हाम्राे पे' सार्वजनिक गरेकाे हाे । 

डिजिटल कारोबारलाई प्रोत्साहन र सेवाग्राहीलाई पैसाको कारोबार गर्दा हुने असजिलोलाई सहज गराउने उद्देश्यले यो सेवा सुरु गरेको 'हाम्रो पात्राे' की प्रबन्ध निर्देशक सुदिना गौतमले बताउनुभयो । एप प्रयाेगकर्ताले अनलाइन भुक्तानी प्रणालीकाे आवश्यकता महसुस गरेकाले त्यसलाई आभास गरेर आफ्नै डिजिटल वालेट सार्वजनिक गरेकाे उहाँकाे भनाइ छ । 

‘डिजिटल युगमा डिजिटल पेमेन्ट सिस्टमबाट काम गर्दा धेरै सजिलो हुन्छ । क्यासलेस युग र पैसा नहुँदा हुने झनन्झटबाट मुक्त हुन ‘हाम्रो पे’ को शुभारम्भ भएको हो’ , उहाँले भन्नुभयाे ।

'हाम्रो पे' मा रहेको बिल स्प्लिट फिचरबाट धेरै प्रयोगकर्ताले एउटा बिल शेयर गरेर तिर्न सक्छन् । यसबाट विभिन्न विषयमा हुने खर्च विवरण राख्न र हेर्न मिल्ने मिल्छ । यसभित्र रहेको आक्स मनी फिचरबाट अरूसँग पैसा माग्न मिल्छ । बिल भुक्तानी गर्न मिल्ने लगायतका विभिन्न डिजिटल कारोबार पनि गर्न सकिन्छ ।

यसमा एकचोटि कारोबार भइसकेको खातामा अफलाइन पेमेन्ट पनि गर्न मिल्छ । पैसाको कारोबार भएको मिति नेपालीमै हेर्न मिल्छ । कसैलाई पैसा तिर्ने र अरूसँग लिने बेला भएपछि सम्झाउने विशेषता पनि यसभित्र छ । 'हाम्रो पे' बारे कुनै समस्या आएमा २४ घण्टा सोधपुछ गर्ने सुविधा पनि यसमा छ ।

'हाम्रे पे' प्रयोग गरेपछि पैसाको व्यवस्थापनमा सहजीकरण हुने हाम्रो पात्रोका अध्यक्ष रुद्रराज पाण्डेले बताउनुभयो । 'हाम्रो पे' प्रयोग गर्दा उपभोक्तालाई सहज गराउन नेपाली, अङ्ग्रेजी, नेपाल भाषा, मैथिली, डोटेली र थारु भाषाको प्रयोग गरिएको छ । 

'हाम्रो पात्रो' मा नेपाली चाडपर्वको बारेमा जनकारी, तीन सयभन्दा धेरै नेपाली रेडियो सुन्न र समाचार पढ्न मिल्ने, नेपाली विनिमय दर र सुन चाँदीको दैनिक मूल्य, राशिफल र कुण्डली हेर्न मिल्नेलगायतका अरू धेरै सुविधा पनि छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया