‘अरू न्यायाधीश स्थायी, सर्वोच्चको प्रधानन्यायाधीश चाहिँ अस्थायी ?’

 फागुन ८, २०७९ सोमबार १३:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीहरूले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

सोमवार सर्वोच्च अदालत बार एसाेसिएशनको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका कानुन व्यवसायीहरूले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलाे कुरा न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहने कुरा शोभनीय हुँदैन । दोस्रो कुरा यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ । ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न नपाउँदा प्रधानन्यायाधीश र निजबाट सम्पादन हुने काममा यसको प्रत्यक्ष असर पर्छ र न्यायपालिकाले कार्यपालिका वा व्यवस्थापिकाप्रति परनिर्भर रहनुपर्ने परिस्थिति सिर्जना हुन जान्छ । संविधानले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका कसैको पनि आश, त्रास र भयबाट मुक्त भएर कार्यसम्पादन गर्नुपर्ने अवस्थामा प्रधानन्यायाधीशको पद लामो समयसम्म रिक्त रहेको कारणले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकाको भावना अनुरूप काम गर्न नसक्ने परिस्थितिको सिर्जना हुन जान्छ । यो राजनीतिक दलहरूको अकर्मण्यता हो । अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्नतर्फ राजनीतिक दलहरू लाग्नुपर्छ । होइन भने यो संविधान र स्वतन्त्र न्यायपालिकाले संविधान बमोजिमको कार्य गर्न असमर्थ हुन्छ । संविधान बमोजिमको कार्य गर्न जब न्यायपालिका असमर्थ हुन्छ, तब लोकतन्त्र धरापमा पर्छ ।’

त्यस्तै वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधानविरुद्धको काम भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद्लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीश अस्थायीरूपमा राख्ने संविधानविरुद्धको काम लामो समयदेखि भइराखेको छ । अरू न्यायाधीश स्थायी, सर्वोच्च अदालतको प्रधानन्यायाधीश चाहिँ अस्थायी ? यस्तो गर्दा बेइमानीहरूको राज्य चलेको भन्ने प्रमाण होला कि भन्ने पिर लागेको छ । त्यसो भएको हुनाले छिटोभन्दा छिटो प्रधानन्यायाधीशलाई स्थायी गर्नेतर्फ सम्बन्धित निकाय संसद्सहितले उचित र पर्याप्त चाँडै ध्यान पुर्‍याओस् ।’

नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयका लागि परिकल्पना गरिएको पद भएको बताउनुभयो । उहाँले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताउनुभयो । लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उहाँले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसद्लाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कायममुकायमको भरमा सर्वोच्च अदालत चलिराखेको अवस्था छ । कायममुकायम छोटो समयका लागि परिकल्पना गरिएको पद हो । तर यहाँ कस्तो देखियो भने कामु प्रधानन्यायाधीशलाई कन्फर्म प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो भएको देखिएन । यो एउटा चिन्ताको विषय हो ।’

त्यस्तै सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष हरिशङ्कर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताउनुभयो । कायममुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया