‘लघुवित्तले ग्राहककाे गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम बन्द गर्नुपर्छ’

 फागुन ८, २०७९ सोमबार १७:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । 

आज सोमवार आर्थिक पत्रकार समाज (सेजन) ले काठमाण्डौमा आयोजना गरेको सङ्कटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताउनुभएको हो । उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनुभयो । धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । 

कार्यकारी निर्देशक नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेमात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताउनुभयो । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । 

कार्यकारी निर्देशक नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरूले खराब काम गरेको भन्दै करेक्शन गरिने बताउनुभयो । केही शेयरका खेलाडीहरू लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको उहाँको आरोप छ । 

उहाँले भन्नुभयो, ‘लघुवित्तमा ३३ लाख ऋणी रहेका छन् । उनीहरू प्रत्येकको फाइल हेर्न सक्दैन । त्यो लघुवित्तहरूले हेर्ने हो । राष्ट्र बैंकले एकै व्यक्ति तीन वटाभन्दा बढी संस्थामा संलग्न हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छ । लघुवित्त संस्थाहरूले बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन । यस्ताे काम तत्काल अन्त्य गर्नुपर्छ । लघुवित्तहरूले धेरै राम्रो काम गरेका छन् तर एउटा नराम्रो काम हुँदा सबै काम ओझेलमा पर्छन् । सबै मिलेर समस्या समाधानको खोजी गर्नुपर्छ । लघुवित्तहरूले ३० वर्षसम्म गरेका योगदानलाई एउटा गल्तीमा बन्द गर्न सकिँदैन । लघुवित्तहरूका गल्ती, कमजोरीहरू सच्याउन आवश्यक छ । कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् ।’

त्यस्तै माइक्रोफाइनान्स एसाेसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरू बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताउनुभयो । लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

2 Comments

  • उज्वल घिमिरे

    Feb. 21, 2023, 10:50 p.m.

    लघुवित्त धेरै राम्रो बैङ्किङ प्रणाली हो तर बिचलियाहरुले लघुवित्त लाई नराम्रो र दोषी देखाएर लघुवित्त लाई आरोप लगाएका छन् मलाई नि यो लघुवित्त मा काम गर्ने ठुलो इच्छा चाहना छ तर तर जनताको सेवा गर्ने नपाइने रैछ किनकि लघुवित्त जनताले बिगारेको होइन लघुवित्त सञ्चालन गर्ने टाउकेहरुको ठुलो हात छ 🙏🙏

  •  0 Reply
  • Pusp raj bhatt

    Feb. 21, 2023, 1:55 p.m.

    Ek dam ramro kura rsatra bank Le lyaudai chh. Member laai 3 micro finance Ma hoin 1 micro finance Ma matra member hun Paaune byabsta garnu parx. Micro finance Le 15 % bhanda badhi dividend din napaune byandtha gardai client protection & client walefare fund Ma invest garne system banaunu parx .

  •  0 Reply

तपाईको प्रतिक्रिया