तमाेर काेरिडाेर : धनकुटा–पाँचथर सडक खण्डमा कालाेपत्र सुरु

 फागुन ९, २०७९ मंगलबार १५:९:३२ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा–पाँचथर सडक खण्ड, फाइल फाेटाे

धनकुटा – तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथर सडक खण्डमा कालोपत्रको काम सुरु भएको छ । साँगुरीगढी गाउँपालिका–१ मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्र गर्ने काम सुरु भएको हो । 

तमोर कोरिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको सडक एक सय १० किलोमिटर रहेको छ । जसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि पाँचथरको गणेश चोकसम्म ४४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको छ । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनी काठमाण्डौले पहिलो खण्डको सडक कालोपत्र गर्ने जिम्मा लिएको छ भने दोस्रो खण्डको कालोपत्र गर्ने जिम्मा एपेक्स कन्ट्रक्सन निर्माण सेवा काठमाण्डौले पाएको छ । यो सडक खण्ड कालोपत्र गर्न पाँच अर्ब ७६ करोड रुपैयाँ लाग्ने तमोर कोरिडोर धरानका योजना प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो । तमोर कोरिडोरअन्तर्गत प्रदेश नम्बर १ को राजधानी विराटनगरको रानीबाट ताप्लेजुङको ओलाङचुङगोलासम्म दुई सय ८० किलोमिटर रहेको छ । 

ताप्लेजुङको ओलाङचुङगोला छिमेकी देश चीनसँगको सीमावर्ती क्षेत्र हो । तमोर कोरिडोर सडक निर्माण सम्पन्न भएपछि चीन र भारत जोड्ने नेपालकै छोटो दुरीको सडक मार्ग बन्नेछ । यस सडक कालोपत्रका लागि सरकारले गएको भदौमा टेन्डर आह्वान गरेको थियो । त्यही आधारमा निर्माण कम्पनीसँग सम्झौता भएर कालोपत्रको काम सुरु भएको हो । 

अहिले दुवै खण्डमा कालोपत्रका लागि ग्राभेल गर्ने, सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ढुङ्गा, गिटी, बालुवा सङ्कलन गर्ने लगायतका काम सुरु भएको छ । कालोपत्रको काम दुई वर्षभित्रमा सक्ने सम्झौता भएको छ । तमोर कोरिडोरको यो सडक निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका तमोर नदी तटीय क्षेत्रका नागरिकलाई तराई झर्न सहज हुनेछ । 

ताप्लेजुङबाट मेची राजमार्गको पाँचथर, इलाम, झापा हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगर पुग्न अहिले झन्डै १२ घण्टासम्म लाग्ने गर्दछ । तर तमोर कोरिडोर निर्माण भएपछि ताप्लेजुङबाट पाँचथर, धनकुटा हुँदै झन्डै आठ घण्टामा विराटनगर पुग्न सकिन्छ । तमोर कोरिडोरको काम २०६६ सालमा धनकुटाको मूलघाटदेखि सुरु गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया