'फोर जी' सेवा गुणस्तर बनाएपछि मात्रै 'फाइभ जी' लागू गर्न उपयुक्त हुन्छ : सञ्चार मन्त्री शर्मा

 फागुन ११, २०७९ बिहीबार १४:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोर–जी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ–जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ ।

बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाण्डाैमा आयोजना गरेको 'फाइभ जी को चुनौती र आगामी बाटो' नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले देशमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै ठाउँमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । उहाँले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाण्डाै उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भए/नभएको विषयमा अध्ययन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपालमा फाइभ जी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फोर जीको अवस्था थाहा नपाई फाइभ जीमा कसरी अगाडि बढ्ने विषय छ । फोरजी सेवामा कति लागत लगायौँ र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरि विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौँ भने लाभभन्दा पनि नोक्सान हुनेजस्तो लाग्छ । हामी फोर जीमा भौगोलिकरूपमा कठिन अवस्थामा छौँ । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन, फोर जीको विषय टाढाको कुरा हो ।’

मन्त्री शर्माले नेपाल भौगोलिकरूपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गर्नुभयो । उहाँले देशका धेरै भू–भागमा इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताउनुभयो । उहाँले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्रसमेत इन्टरनेट र फोनको पहुँचबाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको सुनाउनुभयाे । 

मन्त्री शर्माले उपत्यकाको धेरै ठाउँमा समेत सामान्य सेवा नपुगेको र राजमार्गका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताउनुभयो । उहाँले फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको बताउनुभयो । नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेरेर गर्नुपर्ने उहाँकाे भनाइ छ ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभ जी सेवा अपेक्षाअनुसार नभएर पनि परीक्षण सुरु भएको बताउनुभयो । उहाँले सरकार, नियमन निकाय र उपभोक्ताहरूले सोचेको जस्तो नभएको गुनासो गर्नुभयो । उहाँले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नु पनि परीक्षणको एउटा पाटो भएको बताउनुभयो । 

प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरूको विषयमा अध्ययन गरिरहेको अध्यक्ष खनालकाे भनाइ छ । उहाँले राज्यले लगानी गरेअनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया