सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

 फागुन १६, २०७९ मंगलबार १३:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खायाममा समेत नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने अवस्था आउने बताउनुभयो । उहाँले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट बिजुली बढी हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । झन्डै ७ हजार मेगावटको पीपीए भइसकेको छ । यसमा ८ सय मेगावट बिजुली उत्पादन भएर आइसकेको छ । अहिले २५ सय ४४ मेगावट उत्पादन क्षमता भएको छ । प्रत्येक वर्ष ८ सय मेगावट बिजुली उत्पादन बढ्दै गएको छ । सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ ।  यसरी हेर्दा सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुक्खायाममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ ।’

कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनुभयो ।  

त्यस्तै निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १ दशमलव २ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनु भयो । उहाँले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १ सय ४० मिलियन, विश्व बैंक र एडीबीबाट २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत् उत्पादनका लागि नयाँ–नयाँ प्रोजेक्टहरू बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउनुभयो । 

सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । उहाँले प्राधिकरण जलविद्युत् उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया