नाइजेरियाको राष्ट्रपतिमा सत्तारूढ दलका बोला टिनुबु निर्वाचित

 फागुन १७, २०७९ बुधबार १७:१६:५४ | एजेन्सी
unn.prixa.net

नाइजेरियामा सत्तारूढ दल अल प्रोग्रेसिभ कंग्रेसका उम्मेदवार बोला टिनुबु ८७ लाख ९४ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको त्यहाँकाे निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गर्नुभएको आयोगले जनाएको छ । नेता अबुबाकरले ६९ लाख ८४ हजार मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख मत पाउनुभएको राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमूद याकुबुले बताउनुभएको छ । 

याे चुनाव नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिण–पश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गर्नुभएको छ । 

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर हुनुहुन्छ । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उहाँले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताउनुभयो । उहाँले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाअनुसार राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । 

निवर्तमान राष्ट्रपति मुहम्मदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताउनुभयो । राष्ट्रपति बुहारीले सुव्यवस्थितरूपमा टिनुबु र उहाँको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ । बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गर्नुभएको छ ।

तस्बिर : अल इन्डिया रेडियाे न्युज

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया