ऋण तिर्दिनँ भनेर सुखै छैन : डेपुटी गभर्नर मिश्र

 फागुन १९, २०७९ शुक्रबार १७:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताउनुभएको छ ।

शुक्रवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताउनुभएको हो । उहाँले व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण दबाब समूह बनाई कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न पनि आग्रह गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरूले लगाएको ऋण बैंक तथा वित्तीय संस्थाहरूको रकम नभएर नागरिककाे पैसा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय लघुवित्त, ब्याजका विषयमा धेरै विषयहरू बाहिर आइरहेका छन् । बैंकको ऋण र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने कुराहरू आएका छन् । यो विषयमा नेपाल राष्ट्र बैंक जानकार छ । बैंक तथा वित्तीय संस्थाहरूबाट जसले ऋण प्राप्त गर्नुभएको छ । उहाँहरूले ऋण तिर्नुपर्दैन, अब ऋण तिर्दिनँ भन्न मिल्दैन । ऋण नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो । उद्योग, व्यापार व्यवसाय मन्दीमा जान सक्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्न आग्रह छ ।’

डेपुटी गभर्नर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरूले ऋण दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरूले पैसा पाउन समस्या हुने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन नदिन उहाँकाे आग्रह छ । उहाँले बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । 

डेपुटी गभर्न मिश्रले राष्ट्रिय,अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएका कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्ट्रल बैंकहरूले ब्याज बढाएका कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले व्यवसायीहरूको हितका लागि केही सर्कुलर जारी गरेको भन्दै राष्ट्र बैंकले नीतिगतरूपमा गर्नसक्ने विषयमा के–के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको पनि बताउनुभयो । 

कार्यक्रममा बाेल्दै मिश्रले नेपाल राष्ट्र बैंकले मार्च महिनालाई डिजिटल पेमेन्ट महिनाको रूपमा घोषणा गरेको जानकारी दिनुभयाे । उहाँले सन् २०२३ को वर्षभरलाई डिजिटल पेमेन्ट वर्षको रूपमा लिएको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया