देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाउनुभएको उद्योगी व्यवसायीहरूले बताएका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई उच्चस्तरीय संयन्त्र बनाएर समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनुभएको बताउनुभयो । उहाँले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीलाई बैंकको कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएको, बैंकको उच्च ब्याजदरका कारण तरलतामा देखिएका प्रमुख समस्या समाधान सरकारले गर्नुपर्ने जानकारी गराएको बताउनुभयो ।
अध्यक्ष गोल्छाले बैंकहरूले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणले कर्जा तिर्न नसक्ने अवस्था रहेकाले कर्जा तिर्नै नसक्नेहरूकाको हकमा राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गर्ने जानकारी गराएको पनि बताउनुभयो । उहाँले पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्या तत्काल सम्बोधन नगरे आउँदा दिनमा ठूलो दुर्घटना निम्त्याउने बताउनुभयो ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देश आर्थिकरूपमा जटिल अवस्थामा रहेकाले बैंकको वेसरेट नै हटाउन आग्रह गरेको बताउनु भयो । उहाँले बैंकहरूले व्यवसायीहरूलाई प्रवाह गरेको कर्जामा तीन महिनामा हुने ब्याजदर र प्रिमियम बढ्न नहुने माग राखेको बताउनुभयो । अध्यक्ष मल्लले यो विषयमा प्रधानमन्त्रीले सकारात्मकरूपमा हेरेर सम्बोधन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयाे ।
अध्यक्ष मल्लले प्रधानमन्त्रीले बैंकको ब्याजदरको विषयमा अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाएर बढ्ने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो । उहाँले बैंक, वित्तीय क्षेत्रबाट ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्रीसँगको छलफलपछि नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले घरेलु तथा साना उद्यमीहरूले नेपालमा उत्पादन गरेका वस्तुहरूको बजार सुनिश्चित गर्नुपर्ने माग राखेको बताउनुभयो । उहाँले उद्यमीहरूलाई राज्यले दिने सहुलियत तथा अनुदान लक्षित वर्गमा पुग्ने गरी व्यवस्था गर्न पनि माग गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।