निजी क्षेत्र र आर्थिक एजेन्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

 फागुन २१, २०७९ आइतबार २०:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपुर – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेन्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

नवलपुरको गैँडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरूले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न सकेको छैनौँ । देशमा औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेन्डा हो भन्ने गरेको पाइन्छ ।’

उहाँले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउँदै यसले राजस्व घटाउने मात्र काम गरेको बताउनुभयो । ‘हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा नाकामा हुने अनौपचारिक कारोबारलाई रोकौँ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजस्वमा ठूलो असर पुगेको छ’, उहाँले भन्नुभयो । 

वरिष्ठ उपाध्यक्ष ढकालले हरेक नयाँ नीति तथा नियमहरू बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरूसँग व्यापक छलफल गर्न सरकार तथा नियामक निकायलाई सुझाव समेत दिनुभएको छ । 

बैंकबाट लिएको ऋणको ब्याज तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उहाँले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने सङ्केत गर्नुभयो । ‘केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविकरूपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डरलाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौँ भने यसले देशको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ’, उहाँले भन्नुभयो । 

उहाँले बैंकको ऋण तिर्दिनँ भनेर के भन्न खोजेको हो भनेर प्रश्नसमेत गर्नुभयो । ‘उपस्थित राजनीतिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरूलाई म सोध्न चाहन्छ– बैंकको ऋण तिर्दिनँ भनेर के भन्न खोजेको हो ? बैंकको निक्षेप भनेको त आम नागरिकको पैसा होला । यदि बैंकमा रहेको नागरिकको पैसा तिर्नु पर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौँ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौँ भने त्यसको नतिजा के होला ?’, उहाँले प्रश्न गर्नुभयो । उहाँले भिडमा तालीका लागि मात्र गैरजिम्मेवार ढङ्गले विषयवस्तु नउठाउन आग्रह पनि गर्नुभयो । 

कोरोना महामारीका कारण देशको आर्थिक अवस्था बिग्रिएको बताउँदै ढकालले कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जाने क्रम घट्दा, नेपाल फर्किएकाहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताउनुभयो । त्यस्तै बाह्य पर्यटकको सङ्ख्या घट्दा र बैंकमा लगानीयोग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उहाँले बताउनुभयो ।

‘तर अहिले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । आउने दिनमा अर्थतन्त्र योभन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ’, उहाँले भन्नुभयो ।  

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नवलपुरको धौवादी फलाम खानीबाट व्यावसायिकरूरुपमा फलाम उत्पादनको सम्भावना भए पनि लामो समयसम्म काम अघि बढ्न नसकेको बताउँदै उहाँले यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रहसमेत गर्नुभयो । 

आउँदो चैतमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावको प्रसङ्गमा कुरा गर्दै उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया