बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी काेरिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ ।
देवीस्थानमा रहेकाे विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयवासीले गएकाे तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीयवासीको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार वटा टावर निर्माण हुन सकिरहेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास नगरपालिका–६ देवीस्थानको स्थलगत निरीक्षण गरेको छ ।
टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख बिष्णुराम बिक, फलेवासका मेयर गंगाधर तिवारी, उपमेयर शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निवर्तमान मेयर पदमपाणी शर्मा, प्रहरी नायब उपरीक्षक मधुसोधन न्यौपाने, वडाध्यक्ष नविन श्रेष्ठलगायतको सहभागिता थियो । टोलीले प्रसारण लाइन निर्माण स्थलको स्थलगत निरीक्षण गरी स्थानीयवासीसँग छलफल गरेको थियो ।
टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो । लाइन अभावमा जलविद्युत् आयोजनाहरूको विद्युत् मुख्यरूपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो ।
प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले चार/पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयवासीको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ’, घिसिङले भन्नुभयो, ‘सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरूपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ, रङ्गशालाभन्दा तल भिर रहेकोले टावर धेरै तलसम्म लैजाने सम्भावना देखिँदैन ।’ उहाँले विद्यालयलाई जोगाएर प्राविधिकरूपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने प्रष्ट पार्नुभयो ।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी का्रिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।
आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ दशमलव ६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेशन निर्माण गरिएको छ ।
काेरिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीमा रहेकाे (नयाँ बुटवल सबस्टेशन) सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये फलेवासमा पर्ने चार वटाको निर्माण बाँकी रहेको छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।