आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

 फागुन २४, २०७९ बुधबार २०:३४:१९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अघिल्लो आर्थिक वर्षको तुलनामा गएको वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजी सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ । 

यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा त्यो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रिम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ । 

यसरी गएको आर्थिक वर्ष २०७८÷७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि अहिलेसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण सङ्कलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । ‘भ्याट, आशिकुडालगायतका तथ्याङ्क हेर्दा केही करदाताले आफ्नो कारोबारअनुसार आय विवरण र कर दाखिला गरेको देखिएन । गएको वर्षको यही अवधिसम्मको तुलनामा यस वर्ष आय विवरण बुझाउने करदाताको सङ्ख्या निकै कम देखिएको छ । त्यस्ता करदाताबारे खोजबिन गर्न विभागले कर कार्यालयहरूलाई भनिसकेको छ’, प्याकुरेलले भन्नुभयो । 

कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक सङ्ख्या भने अझै आइनसकेको विभागले जनाएको छ । त्यस्तै आय विवरण र कर दायित्व फरकफारक नगर्ने करदाताको छानबिन तथा अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा आयकर असुली निकै न्यून देखिएको छ । सरकारले पुस मसान्तसम्ममा एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य राखेकोमा एक खर्ब १६ अर्ब ७९ करोड रुपैयाँ बराबरमात्रै असुली गरेको हो । जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो । 

अहिले आयकर मात्र नभई समग्र आन्तरिक राजस्व नै प्रभावित भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा समग्र सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम छ । 

विभागका अनुसार पुस मसान्तसम्म छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख आन्तरिक राजस्व उठाउने लक्ष्य रहेकोमा चार खर्ब ९० अर्ब चार करोड ३८ लाख रुपैयाँ बराबरमात्रै असुली भएको छ । जुन अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत विन्दुले न्यून देखिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया