७ महिनामा १७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट निर्यात

 फागुन २६, २०७९ शुक्रबार २०:२:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपालले झन्डै १७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गएकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र छ करोड छ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार यस अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्रान्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । गएकाे असार २४ गतेदेखि पाल्पा सिमेन्टको 'तानसेन' ब्रान्ड र असोज ३१ गतेदेखि 'अर्घाखाँची' ब्रान्डकाे सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

दुई सिमेन्ट तथा एक स्टिल निर्यात गरेका व्यवसायी भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् ।

नियमित निर्यात

पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यात केही सुस्त भए पनि अहिले नियमितरूपमा निर्यात भइरहेको जानकारी दिनुभयो ।

‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्रान्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझ्नसमेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उहाँले भन्नुभयो, ‘हामीले निरन्तररूपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, बिस्तारै बजार पाउँछ’, । अर्घाखाँची ब्रान्डको सिमेन्ट अहिले भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ ।

पाल्पा सिमेन्टले गएकाे असार २४ गते, श्री स्टिलले गएकाे साउन ४ गते र अर्घाखाँची सिमन्टले गएकाे असोज ३१ गतेदेखि नेपाली उत्पादन भारतमा निर्यात सुरु गरेका हुन् ।

सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोड रुपैयाँ बढीको बिजुली खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत याे व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको जनाएको छ । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।

सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्कअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये झन्डै १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै दुई करोड २० लाख टन छ ।

निर्यात र बिजुली महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन् । सरकारको यस छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

'सिजन' मै छैन माग

मङ्सिर महिनादेखि नेपालमा विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट खपत नभएको व्यवसायीले बताएका छन् । सिमेन्ट उत्पादन सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले विकास निर्माणको काम सुरु भए पनि सिमेन्टको मागमा वृद्धि नभएको बताउनुभयो ।

उहाँका अनुसार बजारमा माग नहुँदा धेरैजसाे सिमेन्ट उद्योगले क्षमताको आधाभन्दा पनि कम उत्पादन गर्दै आएका छन् । अहिले ३० प्रतिशतमात्र सिमेन्ट खपत भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ramkumar Magar

    March 13, 2023, 6:51 a.m.

    नेपालको अर्थतन्त्र भनेकै रिमिट्यन्स हो भने जस्तो लाग्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया