सुनको भाउ फेरि बढ्दै, आज १७ सय रुपैयाँले महँगियो

 फागुन २८, २०७९ आइतबार ११:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।

सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको सङ्ख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । ‘बेरोजगारीको सङ्ख्या बढ्दा सुनमा लगानी गर्ने बढ्छन् । यसले सुनको माग बढाउँछ । माग बढ्दा भाउ बढ्छ’ उहाँले भन्नुभयो । गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च थियो । त्यतिबेला तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ थियो । त्यसपछि भाउ बिस्तारै घट्न थालेको थियो । तर, फेरि अहिले भाउ बढ्न थालेको हो । यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्न थालेको छ ।

विवाहको सिजनमा पनि कारोबार खासै नभएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार विवाहको सिजनमा दैनिक ५० किलो सुनको कारोबार हुने गरेकोमा अहिले २०/२५ किलो मात्रै कारोबार हुने गरेको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया