अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै, विदेशी मुद्रा सञ्चिति १० अर्ब ५० करोड डलर पुग्याे

 फागुन २८, २०७९ आइतबार १३:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको छ ।

सात महिनामा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सात महिनामा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो । यस्तै साउनदेखि माघसम्म शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सात महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोड रुपैयाँले घाटामा रहेको थियो ।

विदेशी विनिमयको सञ्चितिमा पनि सुधार आएको छ । गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव आठ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असार मसान्तमा नाै अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १० दशमलव दुई प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड डलर पुगेको छ ।

सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिना आठ दिनको वस्तु आयात र नाै महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया