सबैले बिजुली गाडी प्रयोग गरौँ : कुलमान घिसिङ

 फागुन २९, २०७९ सोमबार १४:३०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो । उहाँले बिजुलीमा गरिएको लगानी सँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले त्यहीअनुरूप बिजुली गाडीहरू आइरहेका बताउनु भयो । उहाँले पेट्रोल तथा डिजलबाट चल्ने गाडीहरूभन्दा बिजुलीबाट चल्ने गाडी कैयाैँ गुणा सस्तो पर्ने बताउनुभयो ।

घिसिङले बिजुलीकाे गाडीकाे प्रयाेगले प्रदूषण पनि घट्ने भन्दै बिजुली गाडी प्रयोग गर्नुको फाइदामात्रै भएको बताउनुभयो । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले बिजुली गाडी नै उपयुक्त भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बिजुलीकाे खपत बढाउने कार्ययोजनाअन्तर्गत बिजुली गाडीहरू आइरहेको छ, त्यसका लागि सबैलाई बिजुली गाडी प्रयाेग गरिदिनुहुन आह्वान गर्छु । बिजुली गाडीकाे फाइदामात्रै छ । बिजुली स्कुटरमा प्रतिकिलाेमिटर २५ पैसादेखि ३० पैसा खर्च लाग्छ । जबकि पेट्रोल, डिजलबाट चल्ने स्कुटरमा प्रतिकिलोमिटर १०/१२ रुपैयाँ खर्च हुन्छ । त्यस्तै बिजुली गाडीमा प्रतिकिलाेमिटर खर्च एक रुपैयाँभन्दा कम छ, ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकि पेट्रोल, डिजलबाट चल्ने गाडीमा प्रतिकिलाेमिटर १५/२० रुपैयाँ खर्च पर्छ । बिजुली गाडीमा मर्मत खर्च पनि निकै कम हुन्छ । बिजुली गाडीकाे प्रयाेगले प्रदूषण पनि घट्छ । आउँदा दिनमा सबैले बिजुली गाडी प्रयोग गरौँ ।’

कार्यकारी निर्देशक घिसिङले नेपालमा बर्खायाममा पर्याप्त बिजुली रहेको भन्दै आउँदाे  दुई वर्षभित्रमा हिउँदयाममा पनि बिजुली पुग्ने स्थिति हुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया