राष्ट्रपति पाैडेलले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि...

 फागुन २९, २०७९ सोमबार १९:८:३४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – बाग्लुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर हुनुहुन्छ ।

‘म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटक–पटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन । मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटक–पटक आउनुभयो’, सापकोटाले भन्नुभयो ।

राष्ट्रपति पौडेल तत्कालीन समय बाग्लुङ जेलमा बस्दा दूध पुर्‍याउने डिलप्रसाद सापकोटालाई पनि शपथ ग्रहण समारोहमा बोलाइएको थियो । घरायसी कारणले शपथ समारोहमा आउन नपाएका सापकोटाले एक हप्ताभित्रै राष्ट्रपतिलाई भेट्ने योजना रहेको सुनाउनुभयो ।

राष्ट्रपति पौडेल विसं २०४६ को जनआन्दोलनका क्रममा सङ्गठन बनाउने क्रममा बाग्लुङ पुग्नुभएको थियो । सङ्गठन गरेर फर्किने क्रममा पर्वतमा पुगेपछि उहाँ पक्राउ पर्नुभएको थियो । पक्राउपछि पौडेललाई बाग्लुङ जेलमा राखियो । त्यतिखेर बाग्लुङ काठेखोला गाउँपालिका–६ का सापकोटा गाउँमा दूध जम्मा गरेर सहरमा लगेर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । त्यही क्रममा पौडेलसँग भेटघाट र चिनाजानी भएको थियो ।

सहयोग गरेको व्यक्ति राष्ट्रपति बने पनि सापकोटालाई व्यक्तिगत लाभका लागि कुनै अपेक्षा छैन । ‘संस्थाको गरिमालाई कायम राखी नागरिकको विश्वास र भरोसालाई कायम राखेर पदीय जिम्मेवारी पूरा गरिदिए पुग्छ’, उहाँले भन्नुभयो ।

बाग्लुङ कांग्रेसमा आबद्ध ६३ वर्षीय सापकोटा अहिले पनि सामान्य खेती किसानी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘पौडेल जेल बस्दा दुःख लगेर खुवाउँथे, गाउँबाट मकै भटमास भुटेर लैजान्थेँ, साथमा पत्रपत्रिका पनि किनेर लगिदिन्थेँ ।’

सङ्घर्षपछिको सफलता नै सार्थक जीवनको खुसी हो । दुःख, सङ्घर्ष र हैरानी दैनिकीसँग जोडिएका कुरा हुन् । पञ्चायतकालीन राजनीतिको रापले पौडेलको जीवनमा अनेकन मोड ल्यायो । तर पनि आत्मविश्वास कहिल्यै खस्केन । आस्था र विश्वासको दियो निभेन । त्यसैले त सफलताको शिखर चुन्न सफल हुनुभयो राष्ट्रपति बनेर । जेल जीवन जिउँदा पनि राष्ट्रपति पौडेलमा कुनै निराशा थिएन । मुहारमा कान्ति छाएकै हुन्थ्यो । ‘हाम्रो आन्दोलन सफल हुन्छ, हामी सफल भएरै निस्कन्छौँ भन्नुहुन्थ्यो’, पौडेललाई जेलमा भेट्दाको अनुभव सुनाउँदै सापकोटाले भन्नुभयो ।

बाग्लुङ काठेखोला–५ का रघुपति शर्माले राष्ट्रपति पौडेलसँगै जेल बस्नुभएको थियो । उहाँलाई पनि राष्ट्रपतिको शपथमा काठमाण्डौ बोलाइएको थियो तर कारणवश आउन पाउनुभएन । ‘राष्ट्रपति पौडेलसँग जिल्ला प्रहरी कार्यालयको कारागार र बाग्लुङ कारागारमा गरी ९९ रातसँगै बसेको थिएँ । उहाँलाई नजिकबाट चिनेको छु, सबैलाई राम्रो व्यवहार गर्ने सरल र सादगी व्यक्तित्व हुनुहुन्थ्यो’, शर्माले भन्नुभयो ।

शर्माका अनुसार सङ्घ संस्था ऐन २०१७ अनुसार तत्कालीन समयमा पौडेलसहित सङ्गठनमा सक्रिय १० जनालाई जेल पठाइएको थियो । पौडेल जेलमा रहँदा बिहान सबैरे उठ्ने, किताब लेख्नुका साथै देश, लोकतन्त्र र मानव अधिकारका विषयमा जेलमै कक्षा सञ्चालन गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘पौडेल पढेलेखेको मान्छे हामीलाई जेलभित्रै कक्षा दिनुहुन्थ्यो, असाध्यै शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो ।’

शर्माले राष्ट्रपति पौडेलको कार्यकालमा देशमा राजनीतिक स्थायित्व कायम भई नागरिकभित्र पलाएको निराशालाई आशामा बदलेर देशको स्वतन्त्र अभिभावक बन्ने विश्वास व्यक्त गर्नुभयो । पौडेलसँगै जेल पर्दा शर्मा तत्कालीन समयमा नेपाल विद्यार्थी सङ्घ बाग्लुङको सचिव हुनुहुन्थ्यो ।

शपथ समारोहमा बोलाइएका गोविन्द कँडेल पौडेलसँगै जेलमा बस्नुभएको थियो । जेल जीवन बिताउँदाको साथी राष्ट्रपति बनेपछि शीतल निवास पुगेर बधाई दिएर खुसी साट्नुभयो । लामो राजनीतिक जीवन सङ्घर्षमा सादगी र सरल राजनीतिज्ञको छवि बनाउनुभएका पौडेल देशको तेस्रो राष्ट्रपति बन्नुभएको हो । राष्ट्रपति पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिलाई आज (सोमवार) शपथ ग्रहण समारोहमा बोलाउनुभएको थियो । पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण समारोहमा अतिथिका रूपमा बोलाउनुभएको हो । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो ।

राष्ट्रपति पौडेलले आज शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति पौडेलको आमाको नाम ऋषिमाया र बुबाको नाम दुर्गाप्रसाद हो । उहाँको जन्म विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उहाँकी श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, सङ्ज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) हुनुहुन्छ । 

भरतपुर कब्जा गर्ने कांग्रेसको तत्कालीन सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाण्डौबाट गिरफ्तार भई पहिलो पटक झन्डै एक महिना हिरासत सजाय भोग्नुभएका पौडेलले विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गर्नुभएको थियो ।    

मध्यम वर्गीय किसान परिवारमा जन्मनुभएका पौडेलको स्थायी बसोजास व्यास–८ बेलथुम्की तनहुँ हो भने अहिलेको ठेगाना काठमाण्डौ–१६ बोहोराटार बालाजु हो । उहाँले शास्त्री (संस्कृत साहित्य २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) सम्म अध्ययन गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया