पोहोरको तुलनामा कर्जा प्रवाह घट्यो, ६७ प्रतिशत कर्जा घरजग्गाको धितोमा

 फागुन २९, २०७९ सोमबार १९:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जा पोहोरको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार साउनदेखि माघसम्म अर्थात् सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड अर्थात् तीन दशमलव दुई प्रतिशतले बढेको छ । तर यो अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्षको सात महिनामा कर्जा प्रवाह पाँच खर्ब तीन अर्ब ९९ करोड अर्थात् १२ दशमलव तीन प्रतिशतले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव पाँच प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव पाँच प्रतिशत रहेको छ । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६७ दशमलव तीन प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।

सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा छ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव छ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा चार दशमलव दुई प्रतिशतले बढेकाे छ । यातायात सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा नाै दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव चार प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा छ दशमलव एक प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया