डिजिटल कारोबारमा उच्च वृद्धि, मोबाइल बैंकिङबाट एकै महिनामा १ खर्ब ७२ अर्ब रुपैयाँ भुक्तानी

 फागुन ३०, २०७९ मंगलबार १४:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय डिजिटल कारोबारमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको वित्तीय विवरणअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर, कनेक्ट आईपीएस लगायतका माध्यमबाट हुने डिजिटल भुक्तानीमा उच्च वृद्धि भएको हो ।

माघ महिनामा मात्रै मोबाइल बैंकिङबाट दुई करोड २२ लाख पटक कारोबार हुँदा एक खर्ब ७२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । यो गएकाे वर्षको माघ महिनाको तुलनामा ८५ प्रतिशतले धेरै हो । गएकाे वर्षको माघ महिनामा मोबाइल बैंकिङबाट एक करोड ३८ लाख पटकमा ९२ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी भएको थियो । नेपालमा एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ६२ लाखभन्दा धेरैले बढेको छ । अहिले दुई करोड ३६ हजार मोबाइल बैंकिङका प्रयोगकर्ता रहेका विवरणमा उल्लेख छ ।

यस्तै इन्टरनेट बैंकिङबाट माघमा १२ अर्ब ४१ करोड रुपैयाँको भुक्तानी भएको छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १७ लाख ६४ हजार रहेको छ । यस्तै कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या पनि १० लाख २२ हजार नाघेको छ । कनेक्ट आईपीएसमार्फत एकै महिनामा ४२ लाख वटा कारोबारमार्फत तीन खर्ब २८ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएको छ । यस्तै माघ महिनामा क्यूआर कोडमार्फत ५७ लाख ८२ हजार वटा कारोबार हुँदा १७ अर्ब ७६ करोड रुपैयाँको भुक्तानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया