विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित

 चैत १, २०७९ बुधबार १६:३६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो सात महिनामा वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको छ । 

नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत् प्राधिकरणले गएकाे वर्षको माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको  तुलनामा यस वर्ष १ दशमलव ६६ प्रतिशत विन्दुले घटाइएको छ । गएकाे वर्ष माघसम्मको वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव ६५ प्रतिशत थियो । गएकाे आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो । 

यस वर्षको माघमा गएकाे वर्षको त्यही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३ दशमलव ९८ प्रतिशत विन्दुले घटेर ४ दशमलव ८९ प्रतिशतमा सीमित भएको छ । गएकाे वर्षको माघमा यस्तो चुहावट ८ दशमलव ८७ प्रतिशत थियो । 

प्रसारणतर्फको माघसम्मको ४ दशमलव ६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत् चुहावट १२ दशमलव ५९ प्रतिशतमा सीमित भएको छ । गएकाे असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । 

चालु आवको माघसम्ममा वितरण प्रणालीमा पाँच अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकोमा पाँच अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको छ । चार करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । 

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताउनुभयो ।

‘ग्राहकका घरमा राखिएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्ने लगायतका कामलाई देशैभरि अभियानकै रूपमा सञ्चालन गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरू फेरिएका छन्, नयाँ सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालमा आएका छन्, सबस्टेशनको स्तरोन्नति गरिएको छ, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ, समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ ।’ 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ । 

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरूलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिकरूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया