चीनका राष्ट्रपति सी र पुटिनबीच भेटवार्ता, युक्रेन युद्ध समाधानका लागि चीनको प्रस्तावप्रति पुटिन सकारात्मक

 चैत ७, २०७९ मंगलबार ८:२६:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

तीन दिने राजकीय भ्रमणका क्रममा रुस पुग्नुभएका चिनियाँ राष्ट्रपति सीले रुसका राष्ट्रपति पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजिकको सम्बन्ध रहेको बताउनुभएको छ । यो भेटमा सीले दुई देश रणनीतिक सहयोगका साझेदार रहेको र सम्बन्ध अझ घनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको रुसी सरकारी टेलिभिजनले जनाएको छ ।

भेटमा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावमा रुसी नागरिकको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभएको छ ।

रुस–युक्रेन युद्ध सुरु भएयता चीनका राष्ट्र प्रमुखबाट आफ्नो छिमेकी र नजिकको रणनीतिक साझेदार रहेको देश रुसको भ्रमण गरेको यो पहिलो पटक हो । चीनका राष्ट्रपति सीको रुस भ्रमण हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको केही दिनपछि भएको हो ।

युक्रेन र बेलायतले पनि चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । चीनका राष्ट्रपति सीले युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने तयारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।    

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया