तीन महिनामा १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद

 चैत १२, २०७९ आइतबार ७:११:३८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा गरी १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद गरिएको जानकारी दिनुभयो । 

'प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गएकाे मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका २६ हजार र पाँच सय दरको चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ ।

साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार रुपैयाँ बराबरकाे नक्कली नाेट बरामद गरिएको थियो । पुसमा पाँच सय, सय र ५० दरका पनि जाली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा एक हजार दरको चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाण्डाैको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले छ लाख ३६ हजार रुपैयाँ बराबरकाे नक्कली नोट बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाण्डाै बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया