नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारका लागि समयसीमासहितको कार्यतालिका तयार

 चैत १८, २०७९ शनिबार १७:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले बजेट क्यालेन्डर तयार पारेको हो । कार्यतालिका अनुसार यही चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

विभिन्न मन्त्रालय मातहतका विभागलाई बजेट तर्जुमा सम्बन्धमा ‘पोलिसी पेपर’ तयार गरी चैत २० गतेसम्म पेस गर्न भनिएको छ । चैत २१ गतेदेखि अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाले राजस्व परामर्श समितिसँग सम्बन्धित काम थाल्नेछ ।

अर्थ मन्त्रालयका अनुसार सबै विषयगत मन्त्रालयलाई चैत २४ गतेभित्र बजेट प्रस्ताव गरिसक्न र वार्षिक योजना एवं कार्यक्रम मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसक्ने भनिएको छ । त्यस्तै चैत २६ देखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सङ्घ तथा प्रदेशका सदस्यहरुसँग छलफल गरिनेछ ।

चैत २६ देखि वैशाख २० गतेसम्म बजेट, कार्यक्रम र खर्चबारे शीर्षकगत छलफल चल्नेछ । वैशाख २ देखि २५ गतेसम्म वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेटमा राख्ने काम हुनेछ । त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा वैशाख २१ गतेभित्र तयार भइसक्नेछ भने वैशाख २५ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सङ्घीय संसद्का दुवै सदनमा पेस हुने कार्यतालिका रहेको छ । जेठ १ गतेसम्म बजेट वक्तव्यको मस्यौदा तयार भइसक्नेछ  ।

जेठ १३ गतेसम्म अर्थ मन्त्रालयले आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट वक्तव्यलाई अन्तिम रुप दिइसक्नेछ । आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण जेठ १४ गते सङ्घीय संसद्का दुवै सदनमा पेस हुनेछ भने जेठ १५ गते बजेट सार्वजनिक हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया