एआई च्याटबट अझै शक्तिशाली हुने गुगलका प्रमुख पिचाइको घोषणा

 चैत १८, २०७९ शनिबार १९:५६:५७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इन्टरनेटमा आधारित कम्पनी गुगलले आउँदो हप्तादेखि आफ्नो च्याटबट अझै शक्तिशाली हुने घोषणा गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित अर्को प्लाटफर्म च्याट जीपीटी आक्रामक रुपमा अघि बढिरहेका बेला गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले आउँदो हप्ता थपिने अपडेटमार्फत् आफ्नो एआई च्याटबट अझै शक्तिशाली हुने घोषणा गर्नुभएको न्युयोर्क टाइम्सले जनाएको छ ।

पिचाइले च्याटबट थप क्षमताका साथ आउने र गणित लगायतका कठिन प्रश्नहरूको समाधान सजिलोसँग गर्न सक्षम हुने बताउनुभएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले च्याटबटका लागि पाँच सय ४० अर्ब डलर लगानी गर्ने बताएको छ । च्याट जीपीटीमा माइक्रोसफ्टले एक सय ७५ अर्ब डलर लगानी गरेको छ ।

गुगलको प्रयास सफल भएमा बार्डले अत्यन्तै जटिल प्रश्नहरूको पनि सहज समाधान दिने र अझै शक्तिशाली हुने विज्ञहरूको अनुमान छ । च्याट जीपीटीको आश्चर्यजनक सफलतापछि दबाबमा परेको गुगलले पनि एआई प्रविधिमा लगानी बढाएको हो । गएको नोभेम्बरमा सुरु भएको च्याट जीपीटीको अहिले लाखौँ मानिसहरूले प्रयोग गरिरहेका छन् । यसले मानिसकै जस्तो भाषा प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन सक्छ ।

च्याट जीपीटीले अन्य लेखन शैलीको पनि नक्कल पनि गर्न सक्छ ।

 यसैबीच इटलीले च्याट जीपीटीमाथि प्रतिबन्ध लगाएको छ । इटलीको डेटा संरक्षण प्राधिकरणले च्याट जीपीटीको प्रणालीमा गोपनीयता सम्बन्धी चिन्ताहरू देखिएको भन्दै प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

इटलीको नियामकले ओपनएआई माथि तत्काल अनुसन्धान गर्ने जनाएको छ । अहिले विश्वभरि नै एआईका सम्भावित जोखिमबारे चिन्ता व्यक्त भइरहेका छन् । मुख्यगरी एआईले रोजगारीमा पार्ने खतरा र पूर्वाग्रह तथा झुटा खबरहरू फैलाउने लगायत खतरा रहेको विज्ञहरुको चिन्ता छ। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया