फिनल्यान्ड बन्याे नेटाेकाे ३१ औँ सदस्य

 चैत २२, २०७९ बुधबार ६:२८:४२ | एजेन्सी
unn.prixa.net

फिनल्यान्ड मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) काे ३१ औँ सदस्य बनेकाे छ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बसेकाे थियाे । 

फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नेटोमा संलग्न हुने निर्णय गरेको थियाे । नेटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको ठानेर सामूहिक प्रतिउत्तर दिने भएकाले नेटो सदस्यले सुरक्षित महसुस गर्छन् ।

फिनल्यान्ड नेटोको सदस्य हुनुलाई पश्चिमा देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई झट्काको रूपमा व्याख्या गरेका छन् । रुस र फिनल्यान्डबीच १३ सय ४० किलोमिटर लामो सीमा रहेको छ । रुसले बारम्बार नेटोको सदस्य नबन्न चेतावनी दिए पनि फिनल्यान्ड सदस्य बनेको हो ।

कुनै पनि देश नेटोको सदस्य बन्नका लागि सबै सदस्य देशको सहमति चाहिन्छ । फिनल्यान्डलाई सदस्य बन्न नदिन यसअघि टर्कीले लिएको अडान त्यागेपछि फिनल्यान्ड बल्ल सदस्य बन्न सफल भएको हो । सदस्य बन्न आवेदन दिए पनि टर्की र हङ्गेरीको असहमतिका कारण स्विडेनले भने नेटोको सदस्य बन्न पाएको छैन । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले अब रुसको सीमामा रहेको फिनल्यान्डले आफूलाई सुरक्षित ठान्ने र नेटोलाई बलियो बनाउने बताउनुभएको छ ।

दोस्रो विश्व युद्धपछि सन् १९४९ मा तत्कालीन सोभियत सङ्घलाई चुनौती दिन र सुरक्षित रहन भन्दै अमेरिका, क्यानडा, बेलायत र फ्रान्स मिलेर नेटोको स्थापना गरेका थिए । नेटोसँग अत्याधुनिक सेना र हतियार रहेका छन् । फिनल्यान्ड नेटोको ३१ औँ सदस्य भएसँगै नेटो देशहरूसँग रुसको सीमाको लम्बाइ दोब्बर भएको छ ।

अन्तिम अपडेट: असार ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया