१६ औँ दरबारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

 चैत २४, २०७९ शुक्रबार २०:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाण्डाैकाे दरबारमार्गमा एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डे : १६ औँ दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसाेसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासङ्घको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्नका लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवर्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ । 

काठमाण्डाै महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्धन एवम् संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ । साथै काठमाण्डाै उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार बिहान साढे ११ बजे हुनेछ । गीत–सङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरूसहित यो महोत्सव बेलुका साढे ८ बजेसम्म आयोजना गरिनेछ । 

यस महोत्सवमा चर्चित गायक–गायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति हुनेछन् । कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनि, त्रिशला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले प्रस्तुति राख्नेछन् । 

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन/प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षणहरू हुनेछन् । 

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । 

महोत्सवको संरक्षकमा काठमाण्डाै महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडिज् आइसक्रिम र केएफसी रहेका छन् । 

पछिल्लो पटक देखिएको तरलता सङ्कटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडो भन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया