उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढ्दै

 चैत २५, २०७९ शनिबार ८:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढेको छ । आउँदो २८ र २९ गते हुने महासङ्घको साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र केन्द्रीय सदस्यहरु चयन गर्नेछ ।

महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष को बन्ने भन्ने प्रतिस्पर्धा रहेको छ । महासङ्घको ५७औँ साधारण सभाबाट चयन हुने नयाँ नेतृत्व दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि महासङ्घका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बहालवाला उपाध्यक्षहरू रामचन्द्र सङ्घाई र अञ्जन श्रेष्ठको उम्मेदवारी परेको छ । महासङ्घको विधानले तीन फरक व्यावसायिक क्षेत्रमा तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ ।

जिल्ला–नगर वाणिज्य, एसोसिएट र वस्तुगत उपाध्यक्षका ८ उम्मेदवार छन् । वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगततर्फ सकुन्तला हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल तथा एसाेसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यको उम्मेदवारी परेको हो ।

साधारणसभाबाट अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने छन् । महासङ्घको विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउँदो ३० गतेपछि स्वतः अध्यक्ष बन्नुहुनेछ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया