अर्थमन्त्रीद्वारा भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण माग

 चैत २७, २०७९ सोमबार १३:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गर्नुभएको छ ।

सोमवार आज काठमाण्डाैमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गर्नुभएको हो । 

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिनुभयो । उहाँले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् त्यसकाे बारेमा वास्तविक तथ्याङ्क पनि माग गर्नुभयो ।

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व सङ्कलन कम भएको हो, त्यसकाे वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले  पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गर्नुभयो । उहाँले भन्सार प्रमुखहरुलाई कर्तव्यनिष्ट भएर नतिजामूलक काम देखाउन निर्देशन दिनुभयो । उहाँले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने मुख्य ठाउँ भन्सार विभाग भएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा नजितामुखी काम देखाउनको लागि सक्षम नेतृत्वको आवश्यक रहेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरु आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो कि अर्को नाकाबाट भएर गयो । त्यसको ब्रिक डाउण्ड मलाई चाहियो।’

उहाँले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्यक रहेको बताउनु भयो । उहाँले भन्सार नाकाबाट नै विभिन्न सामानहरु जाँच नगरि भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिनुभयो । उहाँले भन्सारमा हुने चुहावट रोक्नको लागि राजश्व सचिव, भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताउनु भयो । उहाँले राजश्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो । 

उहाँले सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी भएको बताउनु भयो । उहाँले सरकारले भन्सार नीति बनाउँदा भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुने बताउनु भयो । उहाँले सरकारले भन्सार नीति समग्र नागरिकको हितमा हुनेगरी बनाउने बताउनु भयो । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया