सुडानमा युद्धविराम अवधि लम्बियो तर सङ्घर्ष रोकिएन

 वैशाख १५, २०८० शुक्रबार १६:५४:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्‍यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट भइरहेकाे छ ।

साउदी अरेबिया र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकाेमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छन् । उनीहरूले युद्ध बन्द गर्ने सहमति पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

अफ्रिकी सङ्घ, संयुक्त राष्ट्र सङ्घ, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकाेमा त्यसको स्वागत गरेका छन् । उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । 

पश्चिमी डार्फुरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका झन्डै ५० हजार बालबालिकालाई खाद्य सहायता उपलब्ध गराउन नसकिएको राष्ट्र सङ्घीय खाद्य कार्यक्रमले जनाएको छ । सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइरहेका छन् । केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन् । 

१४ दिनअघि युद्ध सुरु भएपछि सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन् । ५० देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन् । २० हजार सुडानी चाड पुगेका छन् भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन्, तीन हजार पाँच सय जना इथियोपिया पुगेका तथा तीन हजार जनाको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्र सङ्घीय निकायले जनाएका छन् । युद्ध चलिरहेका थप दुई लाख ७० हजार सुडानी देशबाट विस्थापित हुने चेतावनी पनि राष्ट्र सङ्घीय निकायहरूले दिएका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया