कनिका छरे जसरी बजेट छर्दैनाैँ, एक आर्थिक वर्षमा एउटा काम देखिने गरी गराैँ : अर्थमन्त्री

 बैशाख २७, २०८० बुधबार १९:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सीमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेटमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौँ भनेर कनिका छरेजस्तो गरी बजेट नछर्ने बताउनुभएको हो । उहाँले आफूलाई बजेट छर्ने दबाब रहेको भए पनि आफूले त्यस्तो नगर्ने सङ्केत गर्नुभयो । उहाँले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगतभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकका आवश्यकताहरू थुप्रै रहेको बताउनुभयो । उहाँले नागरिकले बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वाभाविक भए पनि स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको सुनाउनुभयाे । 

उहाँले भन्नुभयो, ‘बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका कुरा गरेर हुँदैन । क्षेत्रगत पनि प्राथमिकतामा तोकिनुपर्छ । थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्त्वकाङ्क्षालाई कसरी पूर्ति गर्न भन्ने चुनाैती छ । सांसदहरूबाट समेत योजनाहरू माग भई आउने र बजेट छर्ने दबाब रहेको छ । माग गर्नु स्वाभाविक हो तर स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको छ । सबै ठाउँमा दिएका छौँ भनेर कनिका छरे जसरी बजेट नछरौँ । एउटा गरौँ, देखिने गरी गरौँ । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन ।’

अर्थमन्त्री महतले सरकार आउँदाे वर्षकाे बजेट नागरिकमा सरकारप्रतिको भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुने गरी ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको दाबी गर्नुभयो । अर्थतन्त्रलाई चलायमान गराउने उपाय खोज्ने उहाँले आश्वासन पनि दिनुभयाे । 

अर्थमन्त्री महतले सांसदहरूले संसदमा भनेको जस्तो देशको अर्थतन्त्र धराशायी नभएको दाबी गर्नुभयाे । उहाँले देशको अर्थतन्त्र तीव्ररूपमा उकालो लाग्नुपर्ने भए पनि त्यसाे हुन नसकेकाे स्वीकार्नुभयाे । देशको आर्थिक वृद्धिदर सकारात्मक रहेको उहाँकाे दाबी छ । उहाँले समस्या र चुनौती स्वीकारेर अघि बढ्यो भनेमात्रै अर्थतन्त्र ठिक ठाउँमा पुग्ने बताउनुभयो । 

उहाँले सरकारलाई ऋणको दायित्व बढ्दै गएको पनि बताउनुभयो । देश श्रीलङ्का बन्ने बहस हुँदा त्यसलाई मध्यनजर राखेर मौद्रिक नीति ल्याउँदा र आयातमा प्रतिबन्ध लगाउँदा केही समस्या आएको अर्थमन्त्रीले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया