खाडी र मलेसियामा नेपाली जेल पर्नुका कारण : जाँड रक्सीदेखि नियम उल्लङ्घन र हत्यासम्म

 बैशाख ३१, २०८० आइतबार १७:२८:२९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा यूएई जानुभएका धादिङका नवीन (नाम परिवर्तन)लाई दुई वर्ष पहिले लागू औषध ओसारपसार गरिरहेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो । नवीनलाई झण्डै आजीवन काराबासको सजाय भएको थियो । तर समयमै यूएईमा रहेको नेपाली दूतावासले नवीनको कानुनी प्रतिरक्षाका लागि काम गरिदियो र दुई वर्षको जेल जीवन बिताएर घर फर्कन पाउनुभयो । 

कम्पनीले पनि सहयोग गरेकाले कम्पनी र दूतावासको निरन्तरको प्रयासपछि मात्रै नवीनलाई नेपाल फर्काउन सफल भएको यूएईमा रहेको नेपाली दूतावासका श्रम काउन्सेलर दिनबन्धु सुवेदी बताउनुहुन्छ ।

तर सबैको भाग्य नवीनको जस्तो हुँदैन । म्याग्दीका सन्तबहादुर पुन २३ वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ । आफू काम गर्ने भेडीगोठमा भेडा चोर्न आएका एक जनासँग प्रतिकार गर्न खाेज्दा उनकाे (चोर्न आएका व्यक्तिकाे) ज्यान गयो । हत्या गरेको आरोपमा सन्तबहादुर जेल पर्नुभयो । पीडितको परिवारले आममाफी दिए घर फर्किने आशमा बस्दाबस्दा उहाँका २३ वर्ष बितिसके । पीडितको परिवारले आममाफी नदिए उहाँलाई मृत्युदण्ड दिइनेछ । तर पीडित परिवार भने यो कुरालाई पन्छाउँदै आएको बताउनुहुन्छ साउदीमा रहेको नेपाली दूतावासका सूचना अधिकारी तथा प्रथम सचिव ऋषिराज आचार्य । यी त प्रतिनिधि घटना मात्र हुन् । विभिन्न कारणले आपराधिक क्रियाकलापमा संलग्न हुँदा वा अपराधको मतियार हुँदा हजारौँ नेपाली परदेशका जेलमा परेका छन् ।

जेल पर्ने क्रम बढ्दो

खाडीका देशमा कतिपय नेपालीहरुलाई साथीहरुले कतै पुर्‍याइदेउ भनेको सामान पुर्‍याउँदा पुर्‍याउँदै बीच बाटोमै हातमा हतगडी लागेका छन् । कतिपय रिसको झोकमा जाइलाग्दा कसैको ज्यानै गएर कारागारका कालकोठरीमा  दिन बिताइरहेकाहरु पनि छन् । कति त तनाव भयो भनेर एक घुट्की रक्सी खाएकै कारण अपराधी ठहरिएर जेल परेका छन् । यस्तै, सामाजिक सञ्जालमा विवादित कुरा लेखेकै कारण रोजगारीको लागि गएका नेपालीहरुले जेलको हावा खाएका उदाहरण पनि थुप्रै छन् । रोजगारीका लागि गएका नेपालीहरु यसरी विदेशमा जेल पर्ने क्रम बढेको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको पछिल्लोे प्रतिवेदनले देखाएको छ । 

मानव अधिकार आयोगको प्रतिवेदन ‘आप्रवासी श्रमिकको मानव अधिकारको अवस्था, २०७९’ अनुसार विश्वका विभिन्न २७ देशमा एक हजार ३० जना नेपाली श्रमिकले जेल जीवन बिताइरहेका छन् । कतिले मृत्युदण्ड पाएका छन् भने कति मृत्युदण्डको पर्खाईमा छन् । आयोगको प्रतिवेदनमा विभिन्न देशमा अहिलेसम्म ४१ जना नेपालीले मृत्युदण्डको सजाय पाएको उल्लेख छ ।

आफूले नियतबस गरेका गल्तीका कारण भोग्नुपर्ने कारबाही बाहेक सम्बन्धित देशमा बर्जित क्रियाकलाप गर्दा धेरै नेपाली जेलमा परेका छन् । सबै देशको रहनसहन भेसभुसा, भाषा संस्कृति एउटै हुँदैन । एक देशमा मान्य कुरा अर्को देशमा अमान्य पनि हुन्छ । कुनै देश धार्मिक विषयमा निकै कठोर हुन्छन् । कुनै देशले लागूपदार्थको विषयमा निश्चित मात्रासम्म लचिला देखिन्छन् भने कुनै देशमा लागूपदार्थ छोएकै कारण पनि हातमा हतगडी पर्ने गरी कठोर कानुन छ । भाषा नजानेकै कारण पनि निर्दोश व्यक्ति फस्ने अवस्था पनि हुन्छ । यस्तै, गन्तव्य देशको परिवेश, त्यहाँका नागरिकको आस्था र त्यो देशका नियम कानुनले गर्दा पनि देशगत रुपमा जेल पर्ने कारणहरु फरक–फरक देखिएको छ ।

साउदीमा रक्सीको कारण जेल पर्नेे धेरै

साउदी नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य देश हो । नेपालीहरु रोजगारीका लागि जाने देशमध्ये साउदीमा धेरै नेपालीहरु जेलजीवन बिताइरहेका छन् । पछिल्लो समय दुई महिलासहित ३ सय ४६ जना नेपालीहरु त्यहाँका विभिन्न जेलमा रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका सूचना अधिकारी तथा प्रथम सचिव ऋषिराज आचार्यका अनुसार त्यसरी जेलमा परेकामध्ये ८० प्रतिशत रक्सीकै कारण हुन् । 

‘रक्सी सेवन गरेको, ओसारपसार गरेको तथा उत्पादन, बिक्री गरेका कारण जेलमा परेका छन्, झण्डै ८० प्रतिशत जति रक्सीकै कारणले जेल परेको देखिन्छ’, आचार्य भन्नुहुन्छ, ‘ रक्सीबाहेक ठगी, चोरी तथा लागु औषधका घटनामा संलग्नहरु पनि जेलमा पर्ने गरेका छन् ।’ 

यस्तै लागूऔषधमा पनि साउदीले कडा नियम ल्याएको छ । त्यसमा पनि मात्रा हेरेर मृत्युदण्डसम्मको सजाय हुन्छ । गएको वर्ष मात्रै साउदीले लागूऔषध सम्बन्धी अपराधमा २० जनालाई मृत्युदण्डको सजाय दिएको थियो । रक्सीको केसमा पनि ६ महिना देखि पाँच वर्षसम्मको सजाय हुनसक्छ । जरीबाना पनि हुनसक्छ । तर यसमा मृत्युदण्डकै सजाय भने नहुने आचार्य बताउनुहुन्छ । 

यस्तै गाउँघरमा आफ्नो सन्तान बिग्र्यो, आपराधिक गतिविधिमा लाग्यो भन्दै विदेश पठाउने गरेका कारण पनि समस्या हुने गरेको उहाँको भनाइ छ । 

‘आपराधिक मानसिकताको व्यक्ति त जहाँ गए पनि सुध्रिँदैन नि, अर्काको देशमा आएर झन् त्यस्तै गतिविधि गर्छन्, जसले गर्दा कारबाहीमा पर्छन्’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले शारीरिक साथै मानसिक रुपमा स्वस्थ भएको अवस्थामा मात्रै आफ्ना छोराछोरीलाई विदेश पठाउने गरौँ ।’

मलेसियामा अध्यागमनसम्बन्धी नियम उल्लङघनका घटना धेरै

नेपाली श्रमिकको रोजाइको देश हो मलेसिया । नेपालको जस्तै हावापानी भएकाले पनि खाडीको गर्मी सहन नसक्नेहरुको आकर्षण बन्छ मलेसिया । कानुन पनि खाडीका जति शक्त छैन । तर पनि सामान्य कुराहरुमा लापरबाही गर्दा, कागजातहरुको ख्याल नगर्दा तथा कम्पनी फेरेर वा अवैधानिक भएर काम गर्दा नेपालीहरु मलेसियामा जेल पर्ने गरेका छन् । 

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार पछिल्लो समय एक सय ५३ जना नेपाली त्यहाँका जेलमा छन् । अध्यागमनसम्बन्धी मलेसियाको कानुन नियम ऐन अन्तर्गत पक्राउ पर्ने धेरै रहेको बताउनुहुन्छ दूतावासका प्रथम सचिव प्रतीक कार्की ।

‘जेलमा पुगेर सोधपुछ हुँदा पासपोर्ट नहुने, भिसा नहुने वा भिसाविपरीत काम गरिरहेका कारण जेल परेका धेरै पायौँ’, कार्की भन्नुहुन्छ, ‘४५/५० जना त्यही ऐन नियम अन्तर्गत पक्राउ पर्नुभएको छ ।’

यस्तै त्योबाहेक जुवातास, वेश्यावृत्ति तथा लागुऔषध, हुलदंगा, महिलालाई जिस्काउने, अझ गम्भीर फौजदारी अभियोगका केसहरुमा नेपालीहरु मलेसियामा जेल पर्ने छुट्ने क्रम चलिरहेको उहाँको भनाइ छ । यस्तै, कहिलेकाहीँ साथीसाथीबीच झगडा हुन्छ । उहाँका अनुसार मलेसियामा हत्या, हत्या प्रयास र लागूऔषधलाई गम्भीर अपराधको रुपमा लिइन्छ  । 

मलेसियाले लागूऔषध, हत्या लगायत विभिन्न ११ प्रकारका अपराधमा मृत्युदण्डको सजाय दिँदै आएकोमा एक महिना पहिले त्यहाँको संसदले मृत्युदण्डको सजाय हटाउनेबारे भोटिङ गरेको थियो । जसमा अधिकांशले मृत्युदण्डको सजाय हटाउनुपर्ने बताएका थिए । तर सरकारबाट यो कानुन पारित भइसकेको अवस्था भने छैन । 

ट्राफिक र ‘सोसल साइट’मा कडा यूएई

मध्यपूर्वको देश यूएई नेपाली श्रमिकहरुको पुरानो र भरपर्दो मानिएको श्रम गन्तव्य हो । वर्तमान विश्व परिवेशमा श्रममैत्री छवि बनाएको देश पनि हो यूएई । श्रमिकहरुको हितमा यहाँका कानुन लचिलो मानिन्छन् । तर यसो भन्दैमा त्यहाँ रहेका श्रमिकका अपराधलाई माफ गरिहाल्ने भने होइन । यूएईमा रहेको नेपाली दूतावासका अनुसार त्यहाँका विभिन्न ७ वटा इमिरेट्समा एक सय ६० को हाराहारीमा नेपाली श्रमिक जेलमा छन् । 

अधिकाँश नेपालीहरु चेतनाको स्तर कम हुँदा र नियमकानुन नजान्दा त्यहाँका जेलमा पर्ने गरेको बताउनुहुन्छ, यूएईमा रहेको नेपाली दूतावासका श्रम काउन्सेलर दिनबन्धु सुवेदी । 

उहाँका अनुसार लागुपदार्थ सेवन, ओसार पसार, चोरी लगायतका कारण यूएईमा नेपालीहरु जेल पर्ने गरेका छन् । यस्तै हत्याका घटना, कसैको प्रलोभनमा परेर गलत क्रियाकलापमा संलग्न हुने लगायत अवाञ्छनीय क्रियाकलापका कारण धेरै नेपाली जेल परेको उहाँ बताउनुहुन्छ ।

‘लोभलालचमा परेर कसको के सामान बोक्दै छु भन्ने थाहा नभइ बोक्दा त्यो सामान ड्रग्स या अन्य गैर कानुनी हुँदा पनि पक्राउ पर्ने गरेका छन्’, उहाँ भन्नुहुन्छ, ‘यस्तै सार्वजनिक स्थलमा बसेर रक्सी खानुहुन्न भन्ने कुरा जानकारी नहुँदा पनि जेल परेकाे अवस्था छ । यस्तै सामाजिक सञ्जालमा विवादित कुरा लेख्दा, कसैको आलोचना गर्दा पनि जेलमा परेको पाइएको छ ।’

यूएईले लागूऔषध जस्तै साइबर अपराधलाई पनि गम्भीर रुपमा लिन्छ । साइबर अपराध अन्तर्गत सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख दिर्हामसम्म जरिबाना तथा पाँच महिनासम्म जेल सजाय पनि हुने गरेको छ । कसैको अनुमतिबिना भ्वाइस रेकर्ड गर्ने, फोटो खिच्ने गर्न पाइँदैन । यो कुरालाई हलुका रुपमा लिँदा पनि जेल पर्ने गरेको सुवेदी बताउनुहुन्छ ।

यस्तै यूएईमा ट्राफिक नियम निकै कडा छ । त्यहाँ कुनै पनि ट्राफिक नियम अनुसरण नगरेमा सीसीटिभी स्क्यानिङ गरेर जरिबानादेखि सजाय समेत गर्ने गरेको छ । जस्तो, रातो बत्ति नाघेर गएको एकैपटक हजार दिह्राम जरिबाना गर्छ । जुन नेपाली ३५ हजार रुपैयाँ पर्न आउँछ । रक्सी खाएर गाडी चलाएमा, लेन मिचेमा, अगाडिको गाडीसँग दुरी कामय नराखेमा, आफूले दुर्घटना गराइ नरोकिएर सिधै गएमा कडा जरिबाना त हुन्छ नै साथै अदालतले जेल सजाय पनि तोक्ने गर्छ ।

यस्तै, खाडीको देश कुवेतमा ७१ जना, कतारमा ६१ जना, बहराइनमा १३ र ओमानमा पाँच जना जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यी देशहरुमा पनि नेपालीहरु जेल पर्ने कारण मुख्यतः त्यहाँको कानुनका बारेमा जानकारी नहुँदा, लागूऔषधमा संलग्न हुँदा, हुलदंगा, चोरी, हत्या नै हुने गरेका छन् ।

कानुनी सहायता पाउन गाह्रो

रोजगारीको खोजीमा परदेश पुगेका नेपालीले त्यहाँ सुखै सुख पाए पनि देशजस्तो हुँदैन । अझ कानुनी रुपमा अप्ठेरो पर्‍यो भने त परदेशीमा न आफ्ना मानिस हुन्छन् न त न्याय माग्न सहज हुन्छ । तर पनि गन्तव्य देशमा रहेका नेपाली दूतावासले जेलमा परेका नेपाली नागरिकको कानुनी प्रतिरक्षाका लागि काम भने गर्छ । 

त्यसको लागि ‘वैदेशिक रोजागारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका, २०७५’ छ । त्यो निर्देशिकाले विभिन्न मापदण्ड तोकेको छ । त्यो पूरा गर्ने श्रमिकले राज्यबाट कानुनी प्रतिरक्षाको ग्यारेण्टी पाउँछन् । तर परदेशी भूमिमा जेलमा परेका श्रमिकमध्ये एकदमै न्यून अर्थात् ७ दशमलव २ प्रतिशतले मात्र कानुनी सहयोग पाएको मानव अधिकार आयोगको तथ्याँकले देखाएको छ । 

त्यो सहयोग पाउनको लागि श्रम स्वीकृति र भिसा दुईटै बाहल हुनुपर्छ । यस्ता मापदण्ड पूरा गरेको अवस्थामा मात्र वैदेशिक रोजगार बोर्ड तथा दूतावासले सहयोग गर्ने हो । गन्तव्य देशका सरकारसँग कुटनीतिक पहल गर्नेदेखि वकिलकै व्यवस्था गरेर मुद्दा लड्न दूतावासले सहयोग गर्छ । वकिल नै राखेर मुद्दा लड्नका लागि आवश्यक पर्ने रकम दूतावासको माग अनुसार नेपालबाट वैदेशिक रोजगार बोर्डले पठाउँछ । यस्तै भाषा अनुवादकको व्यवस्था गरिदिने, र आवश्यक प्रमाण जुटाउनदेखि घरपरिवारसँग सम्पर्क गरिरहन दूतावासले सहयोग गर्छन् । 

सामान्यतया यदि कुनै नेपालीलाई गन्तव्य देशमा त्यहाँको प्रहरीले पक्राउ गर्यो । अनुसन्धान भयो । अभियोग लाग्यो र अदालतमा मुद्या चल्यो भने या त अदालते नै सम्बन्धित दूतावासमा खबर गर्छ । या पक्राउ परेका व्यक्तिको परिवारले वैदेशिक रोजगार बोर्डमार्फत वा सिधै दूतावासमा जानकारी गराउँछन् । यदि ती व्यक्ति त्यो देशमा वैधानिक छन् र कानुनी प्रतिरक्षाको ग्यारेण्टी पाउने मापदण्डभित्र पर्छन् भने दूतावासले आवस्यक सहयोग गर्छ । तर ती व्यक्ति अवैधानिक भएको अवस्थामा दूतावासले सजाय कम गर्न वा कानुनी लडाइ लड्न सक्दैन । मलेसियामा रहेको नेपाली दूतवासका प्रथम सचिव प्रतीक कार्की भन्नुहुन्छ, ‘अवैधानिक अवस्थामा समातिएका नेपाली नागरिक अवैधानिक हुनुहुन्छ भने त्यस्तो अवस्थामा हामीले अपील गर्नुभन्दा पनि उहाँहरुको सजाय सकिएपछि सकेसम्म छिटो सुरक्षित रुपमा घर फिर्ती कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिन्छौँ ।’ 

तर मलेसिया भन्दा साउदी, कुवेत लगायत खाडी देशमा नियम कडा छ । त्यहाँ कानुनी प्रतिरक्षाको लडाइ लड्न सजिलौ छैन । जस्तो, साउदीको लेबर ल उल्लंघन गरेका कारण कसैलाई कस्टडीमा राखेको छ, अनुसन्धान गरिरहेको छ भने त्यस्तो अवस्थामा दूतावासले हस्तक्षेप गर्न नसकिने साउदीमा रहेको नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्य बताउनुहुन्छ । यस्तै साउदीमा अनुसन्धान सकेएर सजाय तोकिसकेका व्यक्तिहरुको हकमा जेल सजाय घटाउन सकिने अवस्था पनि हुँदैन ।

हत्या तथा अङ्गभङ्गको केसमा यी देशमा विशेषगरी अझै साउदीमा ‘ज्यानको बदला ज्यान’ भन्ने कानुन छ । यसमा यदि एकले अर्काको ज्यान लिए, पीडित पक्षले पीडकको पनि ज्यानै लिने र अंगभंग गरेको छ भने अंगभंग नै गर्ने भन्ने हुन्छ । तर यस्तोमा पीडित पक्षले ‘ब्लड मनी’ ज्यानको बदलामा मागिने नगद रकम माग गर्न पनि सक्छन् । नेपाल सरकारले ब्लड मनीको लागि सहयोग त गर्दैन तर देशविदेशमा रहेका नेपालीले चन्दा उठाएर यस्तो सहयोग गर्ने गरेका छन् । यस्तै माफी दिने चलन पनि छ । यसमा ज्यान गुमाएका व्यक्तिका परिवारका सबै सदस्य माफी दिन राजी हुनुपर्छ । एक सदस्य पनि राजी नहुँदा माफी दिइँदैन ।

स साना कुरामा ध्यान दिँदा जेल परिँदैन

चाहे त्यो खाडी, मलेसिया होस् वा अरु कुनै देश । सबैका आफ्नै नियम कानुन् हुन्छन् । चोरी, लुटपाट, लागूऔषध लगायत गतिविधिलाई सामान्यतया सबै देशले अपराध नै मान्छन् ।  नेपालबाट त्यही बानी लिएर वा त्यस्तै गतिविधिमा संलग्न भइरहेका व्यक्ति परदेश जाँदा त्यहाँ आफ्नै जस्तो साथीसर्कल भेट्छन् । पछि गएर उनीहरु नै आपराधिक गतिविधिमा संलग्न हुने गरेको बताउनुहुन्छ, प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्की । 

‘छोरा बिग्रियो बरु विदेश पठाए सुध्रिन्थ्यो कि भन्ने सोच्छन् अभिभावकहरुले, तर समस्याको सुरुवात त्यहीँबाट हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘त्यस्तो मान्छे उता गएर सुध्रिने होइन बरु त्यहाँ पनि आफ्नै सर्कलका साथी खोजेर गर्न नहुने कुरा गर्न थाल्छ, यता लागूऔषध लिन्थ्यो भने उताको कानुन जति नै कडा भए पनि उसलाई त्यो मिलिहाल्छ । अनि त्यही क्रममा पक्राउ पर्छ, जेल जान्छ ।’ 

सीप नसिकेर जाँदा भनेको काम नपाउने वा अप्ठेरो काम पर्ने वा तलब कम हुने कारण त्यहाँ गएर कम्पनी बदल्ने, बढी कमाउने लोभले गैर कानुनी काम गर्ने गर्दा पनि कतिपय नेपाली जेल पर्ने गरेका छन् । त्यसैले आफू जान लागेको क्षेत्रको बारेमा सीप र ज्ञान लिएर जानुपर्ने पनि उहाँको भनाइ छ ।

यस्तै जतिसक्दो छिटो विदेश गए त भइहाल्थ्यो भन्ने ठानेर त्यो देशको बारेमा सामान्य जानकारी पनि नलिएर जाँदा पनि अनेक कानुनी उल्झनमा पर्ने गरेका छन् नेपाली । हुन त वैदेशिक रोजगारीमा जानुभन्दा पहिले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्छ । त्यो तालिममा सम्बन्धित देशको बारेमा सामान्य जानकारी र विदेशमा गर्न हुने नहुने कुरा सिकाइन्छ । तर त्यो तालिम लिन पनि नखोज्दा, तालिम प्रदायक कम्पनी पनि गैर जिम्मेवार र भ्रष्ट बन्दा विदेश जाने श्रमिक आवश्यक कुरा थाहा नपाएरै गइरहेको कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘श्रमिकले पनि सिक्नैपर्छ भनेर अभिमुखीकरण तालिम लिनुपर्यो र तालिमप्रदायक केन्द्र पनि जिम्मेवार बन्नुपर्यो । गन्तव्य देशको बारेमा सामान्य कुरा बुझेर मात्रै गएमा पनि धेरै समस्याबाट बचिन्छ ।’ 

हत्याहिंसा लागूऔषध बलात्कार लगायत केही जघन्य अपराध बाहेक रक्सी खाने, झैझगाड गर्ने, सार्वजनिक स्थलमा अरुको फोटो खिच्ने जस्ता कुरालाई नेपालमा सामान्य अपराधको रुपमा सामान्य सजाय वा जरिबाना मात्र हुन्छ । तर यही कुरालाई खाडी लगायतका देशले जघन्य अपराध मान्छ । यही कारण पनि नेपालमा गरिरहेका क्रियाकलाप खाडीमा गर्दा कतिपय नेपाली जेलमा परेका छन् । त्यसैले खाडीमा त्यहाँका नियमकानुनलाई हलुका रुपमा लिन नहुने साउदीमा रहेको नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यको भनाइ छ ।

‘नेपालकै जस्तो त होला भन्ने सोचेर हुँदैन, यहाँको नियमकानुन कडा छ, यहाँ नगर भनेको कुरा गर्नु नै जघन्य अपराध हो’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले यहाँको नियम कानुनलाई हलुका रुपमा लिनुहुन्न, त्यही हलुका रुपमा लिएकै कारण धेरै नेपाली दाजुभाइ यहाँका जेलमा हुनुहुन्छ ।’
 

अन्तिम अपडेट: जेठ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया