टर्कीको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारको बहुमत नपुग्ने सङ्केत

 जेठ १, २०८० सोमबार २०:८:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारको आवश्यक बहुमत नपुग्ने सङ्केत देखिएको छ । आज साेमवारको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा माथि मत ल्याएर प्रत्यक्ष जित हासिल गर्न नसक्ने देखिएको टर्कीको अर्धसरकारी समाचार संस्था अनादोलु एजेन्सीलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ ।

दोस्रो चरणको मतदान आवश्यक परेमा मे २८ का लागि मिति तोकिएको छ । प्रारम्भिक परिणामले टर्कीका वर्तमान राष्ट्रपति रेसेप तैयप एर्दोगानले विपक्षी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुको तुलनामा अग्रता लिएको देखाएको थियो । ९३ प्रतिशत मतगणना गर्दा एर्दोगानले ४९ दशमलव ६७ प्रतिशत र विपक्षी नेता केमल किलिकडारोग्लुले ४४ दशमलव ५९ प्रतिशत मत प्राप्त गर्नुभएको छ । तेस्रो उम्मेदवार सिनान ओगानले पाँच दशमलव तीन प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रपति एर्दोगानको सत्तारूढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी), नेशनलिस्ट मुभमेन्ट पार्टी (एमएचपी), न्यु वेलफेयर पार्टी र ग्रेट युनियन पार्टीद्वारा गठित पिपुल्स एलायन्समा तीन सय २३ सांसद रहेको अनौपचारिक नतिजाले देखाएको छ ।

यस्तै छ दलीय विपक्षी गठबन्धनले कुल दुई सय १४ सदस्य सांसद प्राप्त गरेको छ र यो सङ्ख्या गठबन्धनले अपेक्षा गरेको वर्तमान कार्यकारी राष्ट्रपतिको अन्त्यका लागि जनमत सङ्ग्रह गर्न आवश्यक तीन सय ६० सिटभन्दा निकै कम हो । विपक्षी वामपन्थी राजनीतिक दलहरूको गठबन्धन लेबर एन्ड फ्रिडम एलायन्स ६३, ग्रीन लेफ्ट पार्टी ६० र वर्कर्स पार्टी अफ टर्कीले तीन सांसद जिताउन सफल भएका छन् ।

मतदानमा झन्डै छ करोड १० लाख मतदाताले सहभागिता जनाएका छन् । यो कुल मतदाताको झन्डै ८० प्रतिशत हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया