अरूले ठग्छन् है भन्दै अभिभावक झैं सम्झाउने एजेण्ट, पैसा हात परेपछि आफैँ फरार

 जेठ ५, २०८० शुक्रबार १५:५५:१४ | बेदानन्द जाेशी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – एजेण्टले भनेअनुसार काम भएको भए बाग्लुङका शिशिर थापामगर यतिबेला युरोपेली देश फ्रान्समा हनुहुन्थ्यो । त्यतिमात्र होइन, त्यहाँको ‘ठूलो’ कम्पनीमा काम गरेर पहिलो महिनाको कमाइ दुई लाख रुपैयाँ घर पठाइसक्नुभएको हुन्थ्यो । तर शिशिरले एजेण्टका मिठा कुराभित्र घुलेको स्वार्थको जहर खुट्याउनै सक्नुभएन । एजेण्टको प्रलोभनमा पर्दा लाखौँ रुपैयाँ ठगिएपछि अहिले उहाँको यात्रा वैदेशिक रोजगार विभागतर्फ मोडिएको छ । आफू ठगिएको उजुरी दर्ता गर्न बैशाख ३१ गते वैदेशिक रोजगार विभाग पुग्नुभएका शिशिर आक्रोश पोख्दै हुनुहुन्थ्यो, ‘त्यसलाई भेटौँ मात्रै नि....।’

६ महिना पहिले कैलाली सुख्खडका कपिल शाहीसँग शिशिरको भेट भएको थियो । कपिलले आफूलाई वहालवाला सेना भएको र युरोपेली देश जान खोज्नेलाई ‘गाइड’ गर्छु भन्दै हिँड्थे । प्लस टू सम्मको पढाइ सकाएर  वैदेशिक रोजगारीमा जाने सोच बनाएर बस्नुभएका शिशिरलाई कपिलका कुराप्रति विश्वास लाग्यो । विश्वास नलागोस् पनि कसरी, बानेश्वरतिर बेलाबेला भेट भइराख्थ्यो । आफ्नै अभिभावकले झैँ गरि सम्झाउँथे । सुखदुःखका कुरा गर्थे । सञ्चो विसञ्चोबारे सोध्थे । शिशिरलाई कपिल ‘असल’ मान्छे लागे । गएको चैतभित्र युरोपेली देश फ्रान्स पठाइदिने कपिलको शर्तमा शिशिरले पटक पटक गरेर १६ लाख रुपैयाँ बुझाउनुभयो । तर सबै पैसा हात लागेपछि फागुनदेखि कपिल सम्पर्कबाटै हराए । शिशिरलाई कपिल यस्तो होला भन्ने विश्वास नै लागेको थिएन ।

‘हामी बस्ने होस्टेलमै बस्थ्यो, खाडीतिर होइन युरोपेली देशमा जानुपर्छ, त्यहाँ कमाइ पनि राम्रो हुन्छ, लाइफ बन्छ भन्दै सम्झाउँथ्यो’, शिशिर भन्नुहुन्छ, ‘जो पायो त्यसलाई विश्वास गर्नुहुँदैन, ठगिन्छ है भाइहरु भन्दै सम्झाउँथ्यो तर उसको आफ्नै नियत खराब रहेछ ।’

आफूजस्तै धेरैलाई कपिलले यसैगरी प्रलोभनमा पारेर ठगेको शिशिर बताउनुहुन्छ । 

‘तीनचार जना त मेरै साथीहरु छ, अनि अरु पनि दश/बाह्र जना रहेछन्, कसैको दुईतीन लाख छ, कसैको १५/१६ लाख ।’

वैदेशिक राेजगार विभागमा ठगीकाे उजुरी दर्ता गराउँदै पीडित

यस्तै त्यही दिन विभागमा भेटिनुभयो, नेपालगञ्जका रमेश शाही । वैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिन्छु भनेर दुई लाख रुपैयाँ लिएको मान्छे ठगी उजुरीमा पक्राउ परेको खबर सुनेर विभागमा पुग्नुभएको थियो रमेश । सिन्धुलीका उद्धव नेपाल भन्ने सूवर्ण मग्रातीलाई उहाँले वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक जान भनेर एक महिना पहिले दुई लाख रुपैयाँ बुझाउनुभएको थियो । उद्धवले बेलाबेला फोन गरेर रमेशलाई काम भइरहेको छ बाँकी पैसा (आठ लाख रुपैयाँ) खोज्दै गर भन्थे । तर त्यहीबीचमा रमेशले उद्धव पक्राउ परेको खबर सामाजिक सञ्जालबाट थाहा पाउनुभयो । अमेरिका लगायत युरोपेली देशमा पठाउने भन्दै चार जनाबाट पाँच लाख रुपैयाँ ठगेको समाचार पढेपछि रमेशले पनि आफू ठगिएको चाल पाउनुभयो र दगुर्दै विभाग पुग्नुभयो । त्यहाँ पुगेपछि उद्धवबाट ठगिएका रमेशजस्तै अरु पनि धेरै आइसकेका थिए ।

‘धन्न मैले दश लाख रुपैयाँ बुझाइसकेको !’, ठूलो रकम ठगीनबाट जोगिए झैँ गरी रमेशले भन्नुभयो, ‘यहाँ त दश पन्ध्र लाख रुपैयाँ ठगिएकाहरु पनि रहेछन् नि ।’

चार वर्ष कतारमा बसेर फर्किनुभएका रमेश अब युरोपेली देश जाने मनस्थिति बनाएर बस्नुभएको थियो । उसो त कतारमा पनि उहाँले राम्रै कमाउनुभयो । त्यहाँको चार वर्षको कमाइले नेपालगञ्जमा जग्गा किन्नुभयो, घर बनाउनुभयो र बिहे गर्नुभयो । कतारमा सँगै काम गरेका आफ्ना साथीहरु युरोपेली देश गएर राम्रो कमाइ गरिरहेका थिए । उहाँलाई पनि युरोप जाने रहर लाग्यो । आफन्तबाट ऋण लिएरै भए पनि उहाँले युरोपेली देश जान उद्धवलाई गएको चैतमा दुई लाख रुपैयाँ बुझाउनुभयो । आफूले धेरैलाई युरोप पठाइसकेको भन्दै ढुक्क हुनुस् भनेर उद्धवले विश्वास दिलाएका थिए । त्यही विश्वास र युरोपको आशमा पर्दा अहिले रमेश विभागको चक्कर काटिरहनुभएको छ । 

यस्तै, क्यानडा जान पाउने आशमा एजेण्टलाई दश लाख रुपैयाँ बुझाउनुभएका नुवाकोटका दीपक श्रेष्ठ पनि विभागतिरै भेटिनुभयो । उहाँले पैसा बुझाएका एजेण्ट भक्तपुरका सीताराम बास्तोला पक्राउ परिसकेका छन् । वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा पठाउने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा गएको बैशाख २४ गते बास्तोलालाई प्रहरीले पक्राउ गर्यो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ६८ वर्षीय बास्तोलासमेतको टिमले एक सय एक जनाबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेका थिए । तर दीपकसँग भने आफूले पैसा दिएको कुनै प्रमाण छैन । आधा रकम ‘क्यास’ दिएको र आधा एजेण्टले भनेको मान्छेको खातामा हालिदिएकाले ठगी रकम दाबी गर्न उहाँसँग प्रमाण पुगेन । 

‘मैले त पैसा बुझाइसकेर मे पहिलो हप्तामै उड्नुपर्छ भनेको थियो’, विभाग बाहिर कानुन व्यवसायीसँग परामर्श लिइरहनुभएका उहाँले भन्नुभयो, ‘मसँग रकम दाबी गर्ने प्रमाण त छैन तर पैसा त बुझाएको छु नि, त्यो त उसलाई (बास्तोला) थाहा छ नि ।’

वैदेशिक राेजगारीका क्रममा ठगिएर न्याय पाइने आशमा विभाग धाइरहेकाहरु ।

शिशिर, रमेश र दीपक त प्रतिनिध पात्र मात्र हुन्, एजेण्टबाट ठगिएँ भन्दै दैनिक ६/७ वटा उजुरी विभागमा दर्ता हने गरेका छन् । यीमध्ये अधिकांश युरोपेली देश जान लाग्दा ठगीनेहरु भएको विभाग अन्तरगत उजुरी तथा मुद्धा शाखाकी अधिकृत कृष्णकुमारी भण्डारी बताउनुहुन्छ ।

‘व्यक्तिगत ठगीका उजुरी प्रायजसो युरोप अमेरिका तथा एसियाकै पनि जापान दक्षिण कोरिया लगायत विकसित देशको लागि भनेर छन्’, उहाँ भन्नुहुन्छ, ‘यसमा पनि युरोपकै धेरै देखिन्छ । रोमानिया, पोर्चुगल, यूके, न्युजिल्याण्डमा पठाउने भनेर ठगेका धेरै छन् ।’ कोरोना महामारीपछि एजेण्टबाट ठगिने क्रम झन् बढीरहेको उहाँको भनाइ छ ।

एजेण्टबाट ठगिने क्रम बढ्दै 

पछिल्लो समय एजेण्टबाट ठगिने (व्यक्तिगत ठगी) क्रम बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा एजेण्टबाट ठगिनेको संख्या ६ सय ९५ थियो । तर चालु आर्थिक वर्ष २०७९/०८० को दश महिनामा मात्रै ९ सय २५ वटा यस्ता ठगीका उजुरी विभागमा दर्ता भएइसकेका छन् । यसरी दर्ता भएका नौ सय २५ उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ ठगी रकम दाबी गरिएको छ । गएको आर्थिक वर्षमा विभागमा दर्ता भएका छ सय ९५ उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रुपैयाँ रकम दाबी गरिएको थियो । 

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेण्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार ४१७ रुपैयाँ ठगी भएको छ । यो अवधिमा विभागमा परेको १६ सय २० उजुरी उपर यो रकम दाबी गरिएको हो । 

वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि भने विभागसँग अनुमति लिएका म्यानपावर कम्पनी बाहेक कोही पनि एजेण्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम छ । तर सरकारको नियम विपरीत एजेण्ट तथा बिचौलियाबाट हुने ठगी भने बर्सेनि बढ्न थालेको छ । 

न्याय पाउन समस्या

एजेण्टबाट ठगिएकाहरुले न्याय पाउन समस्या हुने गरेको पनि विभागको तथ्यांकले देखाउँछ । पीडितले न्याय पाउन सुरुमा एजेण्टलाई पक्राउ गर्नुपर्ने हुन्छ । यो काम विभागले प्रहरीसँगको सहयकार्यमा गर्छ । तर एजेण्ट पक्राउ पर्ने दर नै निकै कम छ । 

ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर पक्राउ पूर्जी जारी गर्ने, अदालतमा मुद्दा दायर गर्ने लगायत प्रक्रिया गर्छ । यदि एजेण्ट पक्राउ परेमा  सकेसम्म मिलापत्र गर्ने र भएन भने वैदेशिक रोजगार न्यायाधीकरणमार्फत मुददा दर्ता गरेर अदालती प्रक्रियामा जान्छ । पक्राउ पूर्जी जारी भइसकेको तर एजेण्ट पक्राउ नपरेको अवस्थामा पनि मुद्दा अदालती प्रक्रियामा जान्छ ।

चालु आर्थिक वर्षको १० महिनामा परेका नौ सय २५ उजुरीमध्ये १७६ जना एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । त्यसअन्तर्गत १३५ जनाले विभागकै रोहबरमा मिलापत्र गरेका छन् । मिलापत्रमार्फत नौ करोड ४३ लाख ५६ हजार एक सय रुपैयाँ एजेण्टहरुले पीडितलाई फिर्ता गरेका छन् । यस्तै यो अवधिमा विभागबाट नटुंगिएका ७७ वटा मुद्दा अदालतमा दायर भएका छन् ।
एजेण्टको ठगी बढेसँगै पक्राउ पर्ने क्रम पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक सय ४९ एजेण्ट पक्राउ परेकोमा एक सय १४ वटा मुद्दाको मिलापत्र भएको थियो । जसबाट ९ करोड ३३ लाख ५० हजार ६९५ रुपैयाँ पीडितले पाएका थिए ।

पछिल्लो समय विभागले प्रमाण पुगेका नपुगेका सबैखाले उजुरी दर्ता गर्छ । प्रायजसो एजेण्टबाट हुने ठगी धेरै हुन्छ र त्यसमा प्रमाण पनि अपुग हुन्छ । त्यसैले पीडितले न्याय पाउने दर कम छ । यसरी गैरकानुनी रूपमा भएको ठगीमा अहिलेसम्मको रेकर्डले न्याय पाउने सम्भावना ३५ प्रतिशत जति मात्र रहेको विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया