१ हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

 जेठ १२, २०८० शुक्रबार २०:३३:४९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

आज शुक्रवार वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्ष (आईसीयू) मा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् ।’ 

मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको आईसीयू कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन  अस्पताललाई निर्देशन दिनुभयो । 

उहाँले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारबाही गर्न चेतावनीसमेत दिनुभयो । ‘सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौँ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिने छ’, उहाँले भन्नुभयो । 

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिनुभएको थियो । 

न्याम्सका निमित्त उपकुलपति बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक हप्तामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाण्डौ आइपुग्नुभएका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गर्नुभएको हो । निरीक्षण टोलीमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा. सङ्गीता मिश्र र मन्त्रालयका अधिकारी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया