६ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

 जेठ १३, २०८० शनिबार ८:९:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ पालिका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ९९ पालिकाका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा र प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ । उहाँका अनुसार ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक तीन हजार पाँच सय रुपैयाँ, यातायात खर्चबापत प्रतिवर्ष एक हजार पाँच सय र पोशाक खर्चबापत प्रतिवर्ष दुई हजार पाँच सय रुपैयाँसमेत उपलब्ध गराइनेछ । 

यस्तै ८० विद्यार्थीले तीन वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लोमा इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो । १८ महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इञ्जिनियरिङ र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ । 

यस्तै तीन वर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ, बालीविज्ञान, जियोमेटिक्स इञ्जिनियरिङ,  बायोमेडिकल इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ (स्पेशलाइजेशन इन हाइड्रोपावर), रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इञ्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया