सेल्फी खिच्दा खसेकाे माेबाइल खाेज्न कर्मचारीले ‘ड्याम’बाट निकाले २० लाख लिटर पानी

 जेठ १३, २०८० शनिबार १२:२४:३० | एजेन्सी
unn.prixa.net

भारतमा एक जना सरकारी कर्मचारीले सिँचाइकाे लागि निर्मित बाँध 'ड्याम'मा खसेको आफ्नो मोबाइल खोज्नको लागि पूरै बाँध खाली गर्न लगाएपछि कारबाहीमा परेका छन् ।

सेल्फी खिच्ने क्रममा खाद्य अधिकारी राजेश विश्वासको हातबाट उनको एक लाख भारतीय रुपैयाँ बराबरको सामसुङको मोबाइल बाँधमा खसेको थियो । भारतको छत्तिसगढको कंकर जिल्लामा  निर्मित खेरखट्टा ड्याममा गएकाे आइतबार मोबाइल खसेको हो । उनले त्यो मोबाइलमा महत्वपूर्ण सरकारी डाटा रहेको भन्दै बाँधबाट बीस लाख लिटर पानी निकालेका थिए । मोटरको सहायता लिएर पनि यति पानी खाली गर्न तीन दिन लागेको थियो । मोबाइल भेटिएता पनि त्यसमा पानी पसेर चल्न सकेको छैन ।

यसरी मोबाइल निकाल्न ड्यामको पानी निकालेपछि उनको तीव्र आलोचना भइरहेको छ । उनले खाली गरेको पानीले ६ सय हेक्टर जमिन सिँचाइ गर्न सकिने अधिकारीहरुले बताएका छन् । कंकर जिल्लाका अधिकारी प्रियंका शुक्लाले यसरी पानीको नोक्शान गर्नु गलत काम भएको भन्दै छानबिन नभएसम्म राजेशलाई जागिरबाट निलम्बन गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया