देश र नागरिककाे हितका लागि राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

 जेठ १३, २०८० शनिबार २०:३७:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र नागरिकको हितका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । शनिवार आज प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्नाआफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले नागरिकको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले नागरिकको हितमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विगतका नमिठा पक्षलाई बिर्सिएर नागरिक र देशको विकासका लागि लाग्न आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन् । सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि । तर नागरिकको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हेर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ । हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन् । तर त्यो भन्दा माथि राष्ट्र र नागरिक हो, त्यसकारण नागरिकका हितमा काम गर्न एक हुनुपर्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको दाबी गर्नुभयाे । उहाँले अहिले देशका अघि रहेका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया