हेटौँडाकाे सुकाैलीमा १३२ केभी प्रसारण लाइनको तार फेर्ने काममा स्थानीयकाे अवरोध

 जेठ १५, २०८० सोमबार ११:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा रहेकाे सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेर्ने  काममा अवरोध गरेका छन् ।

झण्डै ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखेर स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण गएकाे वैशाखको पहिलो हप्तादेखि काम ठप्प छ ।

नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको झण्डै १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो ।

अहिले याे प्रसारण लाइनबाट झण्डै २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भइ झण्डै ४ सय  मेगावाट प्रवाह हुन्छ । यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युतलाई ढल्केबर सबस्टेसनमार्फत् भारततर्फ निर्यात गर्न सकिन्छ ।

हेटौँडा उपमहानगरपालिका चौकीटोलमा रहेकाे सबस्टेसनबाट कमानेसम्मको ९ दशमलव ५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको ७ दशमलव ५ किलोमिटर तार फेरिएको छ । हेटौँडा–कमाने खण्डमा तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो काटेर अस्थायी रुपमा बाँधेर राखिएको छ । स्थानीयको अवरोधले बाँकी काम रोकिएको छ । एउटाको  काम सकिएपछि अर्को सर्किटको काम सुरु हुने छ । तराई क्षेत्रमा विद्युतकाे माग बढेको तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आएका हुन्। विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफल गरी पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि मेरुदण्डको रुपमा रहेको लाइनको कामलाई अवरोध नगरदिन आग्रह गरेको छ । छलफलमा १५ नं वडाका वडाध्यक्ष सुनिल मोक्तानले झण्डै ४१ वर्षअघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएकोलगायतका माग स्थानीयको रहेको बताउनुभयो । ‘राज्यका निकायले कानुनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयले उठाएका जायज मागलाई प्राधिकरण व्यवस्थापनले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ, यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरि काममा सहयोग गरौँ’, वडाध्यक्ष मोक्तानले स्थानीयलाई आग्रह गर्नुभयो ।

स्थानीयले राखेका जायज मागलाई क्रमशः सम्बोधन गर्दै जाने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले झण्डै ४१ वर्ष अघि बनेको लाइन अहिले आएर सार्न असम्भव रहेको बताउनुभयो । ‘प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिँदैन भने बनिसकेको लाइन सार्न सम्भव नै छैन,’ घिसिङले भन्नुभयो । ‘यो लाइनको स्तरोन्नति सकिएन भने मर्स्याङ्दी नदी करिडोरका आयोजनाहरुको विद्युत् प्रवाह गर्न नसकेर खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आएमा दैनिक रुपमा राज्यलाई कराेडौँ घाटा हुन्छ, त्यसले यस्तो महत्त्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसौचौँ, काममा अवरोध नगरौँ ।’

प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्नपाउनेलगायतका विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय रुपका सामाजिक मागलाई सम्बोधन गर्दै जाने उहाँले विश्वास दिलाउनुभयो ।

१३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौत ४ साउन २०७९ मा कार्यान्वयनमा आएको थियो । याे कार्य २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया