बेलायत जाने सोच त्यागेर घैंटे चिया र कोरियन रेस्टुरेन्टमा रमाएका प्रेम

 जेठ १८, २०८० बिहिबार १३:५३:५८ | बेदानन्द जाेशी
unn.prixa.net

वि.सं. २०६६ सालतिरको कुरा हो, दक्षिण कोरियामा झण्डै दुई दशक बिताएर घर फर्किएका प्रेम गुरुङलाई नेपालमा बस्न पटक्कै मन थिएन । उहाँ बेलायत जाने सुरसारमा हुनुहुन्थ्यो ।

त्यहीबेला बेलायतबाट आएका आफ्ना मामालाई लिन उहाँ त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । मामालाई पर्खिरहेका उहाँको ध्यान तान्यो एक बालकले । सानो बालक आफ्नो बाबुको पाइन्ट समातेर रोइरहेको थियो ।

बुवा रोजगारीको लागि साउदी जान लागेकोले बच्चा रोएको रहेछ । बच्चाका बुवा, आमा सबै रोइरहेका थिए । त्यो दृश्यले निकै भावुक बनायो प्रेमलाई । 

‘छोराछोरी श्रीमतीलाई रुवाएर परदेश जानुपर्ने बाध्यताले मलाई नराम्रोसँग छोयो । म जिन्दगीमा पहिलोपटक कसैप्रति त्यति भावुक बनेको थिएँ’ उहाँले त्यो क्षण सम्झनुभयो ।

त्यही दिन प्रेमले प्रण गर्नुभयो, ‘बरु यतै केही काम गरेर दुईचार जनालाई रोजगारी दिएर बस्छु, बेलायत जाँदिनँ ।’

दुईचार जनालाई भए पनि रोजगारी दिन्छु भनेर बेलायतको रहर त्यागेर नेपालमै बस्नुभएका प्रेमले अहिले ८० जनालाई रोजगारी दिइरहनुभएको छ । ताप्लेजुङको विकट गाउँबाट कोरियासम्मको यात्रादेखि ८० जनालाई रोजगारी दिनसम्म प्रेमले गरेको संघर्ष प्रेरणादायी छ ।

ताप्लेजुङको एक सामान्य परिवारमा जन्मिएका प्रेम बुवाआमाको जेठो छोरा हुनुहुन्छ । साथमा तीन बहिनी । घरको जिम्मेवारी । अभावमै गुज्रियो बाल्यकाल । 

उहाँ भन्नुहुन्छ, ‘स्कुलबाट आएपछि पहिलो होमवर्क दाउराघाँस हुन्थ्यो, १३ वर्षमा त चप्पल लगाएको थिएँ ।’

स्कुले जीवनमै साथीभाइको लहलहैमा लागेर २०४६/४७ तिर लाहुरेमा भिड्नुभयो प्रेम । त्यसमा दुईतीन पटक प्रयास गरे पनि सफलता भने हात लागेन । आर्थिक अवस्था कमजोर भएका कारण एसएलसी दिएर उहाँ क्याम्पस पढ्न सरहतिर पनि झर्न सक्नुभएन । गाउँकै विद्यालयमा दुई वर्ष जति शिक्षक पेसा गर्नुभयो । अस्थाइ शिक्षक पेसाले परिवार धान्न मुस्किल थियो । कमाउनको लागि साउदी भए पनि जान्छु भनेर बुवासँग सल्लाह गर्नुभयो । बुवाआमाको एक्लो छोरा, कतै जान सहमति चाहिन्थ्यो । घरबाट अनुमति पाएपछि साउदी जान उहाँ वि.स. २०४८ सालमा काठमाण्डौ आउनुभयो ।

साउदी जानको लागि यताउती धाइरहनुभएको थियो, त्यहीबेला उहाँले चिनेको एकजना दाइमार्फत दक्षिण कोरिया जान मिल्ने थाहा पाउनुभयो । साउदी जान सस्तो थियो तर कोरिया जान ७५ हजार रुपैयाँ चाहिने भयो । प्रेमले गाउँमा बुवालाई खबर गर्नुभयो । गाई बेचेर र केही ऋण गरेर उहाँको बुवाले पैसा पठाइदिनुभयो । त्यसपछि प्रेम अराइभल भिसामा कोरिया पुग्नुभयो । त्योबेला कोरियाको लागि वर्किङ भिसा भन्ने नै थिएन । अहिलेको जस्तो ईपीएस प्रणाली पनि थिएन । 

त्यहाँ पुगेर दुःख कति खेप्नुपर्यो त्यसको लेखाजोखा छैन प्रेमसँग । अराइभल भिसामा गएका उहाँ लुकेर कम्पनीमा काम गर्न थाल्नुभयो । भाषा नजान्दा समस्या भयो । कारखानाहरुमा काम गर्नुभयो । निर्माणको क्षेत्रमा काम गर्नुभयो । त्यतिबेला कोरियामा कामदारको अभाव थियो । अवैधानिक हुँदा पनि उहाँले लुकेर काम गर्न पाउनुभयो । त्यस्तो अवस्थामा नेपाल फर्किन पाउने त कुरै थिएन । काम गर्दागर्दै १५ वर्ष बिते । त्यहीबेला दमको रोगी प्रेमकी आमा बित्नुभयो । नेपालबाट काइँला मामाले यो खबर सुनाएपछि प्रेमलाई असह्य पीडा भयो । आमालाई भेट्ने दिन कुरेर बस्नुभएका प्रेम आमा नै रहनुभएन भन्ने खबरले निकै विक्षिप्त हुनुभयो । कम्पनीले बिदा दिने त कुरै थिएन । त्यसैमाथि अवैधानिक भएका कारण भनेकै बेला घर फर्किन पनि सजिलो थिएन । आमासँगको १५ वर्ष अगाडिको भेट नै अन्तिम भेट भइदियो । त्यो क्षण सम्झिँदा अहिले पनि प्रेमका आँखा रसाउँछन् ।

आँखाभित्रको आँसुलाई दबाउँदै भन्नुहुन्छ, ‘त्यसपछि पनि काम गरिरहेँ, भाग्यले मलाई जिस्काइरहेको छ जस्तो लाग्थ्यो । म निरिह बनिसकेको थिएँ ।’

त्यो घटनाको चार वर्षपछि वि.स. २०६६ सालमा प्रेम नेपाल फर्किनुभयो । १९ वर्षको उमेरमा कोरिया जानुभएका उहाँ ३८ वर्षको उमेरमा फर्किनुभएको थियो । लामो समय कोरिया बसाइमा पैसा त कमाउनुभयो । तर साथमा आमा नहुँदा प्रेमलाई आफ्नै देश पनि उराठ लाग्यो । त्यसैले त उहाँले बेलायत जाने सोचिसक्नुभएको थियो । तर विमानस्थलमा देखेको त्यो दृष्यले प्रेमलाई नेपालमै रोकिराख्यो ।

‘नेपालको केही पनि निको लाग्दैन थियो । जता गए पनि दिक्क लाग्थ्यो, मलाई एकछिन पनि बस्न मन थिएन नेपालमा’, प्रेम भन्नुहुन्छ, ‘तर त्रिभुवन विमानस्थलको त्यो क्षणले नै हो मलाई यहीँ बस्न प्रेरित गरेको ।’

नेपालमा बस्ने निर्णय त गरियो तर गर्ने के ? त्यसपछि यो प्रश्नले लखेट्न थाल्यो ।

२०६८ सालमा उहाँले काठमाण्डौको बागबजारमा कोरियन भाषा प्रशिक्षण केन्द्र, सिन्ह्वा खोल्नुभयो । आफूले भाषा नजान्दा कोरियामा भोग्नुपरेको समस्या अब जानेले नभोगुन् भन्दै भाषा कक्षा सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । अहिले पनि उहाँको इन्स्टिच्युटमा एक हजार भन्दा बढी विद्यार्थी भाषा सिक्छन् । विद्यार्थीहरुलाई उहाँले विदेश त जानुपर्छ तर त्यहाँबाट पैसासँगै सीप, ज्ञान लिएर फर्किनुपर्छ र नेपालमै केही गर्नुपर्छ भनेर सम्झाउनुहुन्छ ।

प्रेम आफूले भने कोरियामा सिकेको काम नेपालमा प्रयोग गर्नु भएन । कोरियामा उहाँले ठूलाठूला कम्पनीहरुमा गर्नुभएको थियो काम । त्यस्तो कामको प्रयोग हुने कम्पनी नेपालमा खुलेकै छैनन् । त्यसैले उहाँले कोरियामा सिकेको त्यही भाषा सिकाएरै व्यवसाय सुरु गर्नुभयो ।

घैंटे चियाको यात्रा

प्रेम गुरुङलाई भन्दा घैंटे चियालाई चिन्ने धेरै छन् । काठमाण्डौका चिया पारखीको जिब्रोमै झुण्डिएको नाम हो घैंटे चिया । 

कोरियन भाषा सिकाइरहँदा प्रेमलाई योसँगै अरु कुनै नयाँ व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । रेकर्डिङ स्टुडियोदेखि तोङ्बा हाउस लगायत क्षेत्रमा लगानी गर्नुभयो । तर अपेक्षाअनुसार व्यवसाय चलेनन् । त्यहीबेला काठमाण्डौकै कुनै रेस्टुरेन्टमा गएको बेला साथीको अर्डरअनुसार आमेरिकानो कफी पिउनुभयो । त्यो पिउँदै गर्दा प्रेमको दिमागमा नयाँ ‘आइडिया’ फुर्यो । त्यो आइडिया थियो, ‘विदेशी कल्चर महंगो दाममा यसरी बिक्री भइरहेको बेला नेपालकै मौलिकता भएको चियालाई नयाँ ढंगले पेस गरे कति राम्रो होला ?’

चलनचल्तीको कुरालाई नयाँ तरिकाले पेस गर्नु पनि विकास हो भन्ने मान्यता राख्नुहुन्छ प्रेमले । 

त्यसपछि उहाँले चियाबारे अध्ययन गर्न थाल्नुभयो । ताप्लेजुङ र ईलाममा तीन महिना बिताउनुभयो । चियाको फरक फरक स्वाद, चिया मसला र बनाउने कलालाई विभिन्न गाउँ/ठाउँबाट टिप्नुभयो । सामान्यतया काँच, कप तथा स्टीलको गिलासमा भरिने चियालाई घैंटो आकारको माटोमा भाँडोमा हालेर पस्किने विचार गर्नुभयो । स्वाद र तरिकामाथि यसरी व्यापक अध्ययन गरेपछि बल्ल २०७६ मा जन्मियो घैंटे चिया ।

प्रेमले सुरुमा पार्टनरशीपमा बागबजारमा घैंटे चिया खोल्नुभयो । पछि एकान्तकुना खरिबोट अगाडि उहाँ एक्लैको लगानीमा घैंटे चिया सञ्चालन गर्नुभयो । मानभवनमा पनि घैंटे चियाको शाखा खोल्नुभयो ।

घैंटे चिया पसल सानो ठाउँलाई पनि चिटिक्क पारेर बनाइएको छ । बस्ने कुर्सीदेखि साजसजावटका सामग्रीमा गाउँघरको मौलिकतादेखि, कोरिया र बेलायतसम्मका सामानहरुको संयोजन गर्नुभएको छ । यस्तो सानो ठाउँलाई पनि चिटिक्क पारेर राख्न र ठाउँको सदुपयोग गर्न प्रेमलाई कोरियाले सिकायो । प्रेम यसलाई विकास भन्नुहुन्छ ।

‘यो पनि एक प्रकारको विकास हो, हामीले सुरु गर्नुभन्दा पहिले यही ठाउँमा दश, पन्ध्र जना बस्न मिल्ने सानो क्याफे थियो, अहिले त्यही स्पेसमा ४० जना बस्न सक्नुहुन्छ ।’

घैंटे चियाको विशेष जोड नेपाली चियामा भए पनि चिनियाँ, जापनिज र कोरियन स्न्याक्सका परिकार पनि पाइन्छन् । घैंटे चियामा मात्रै ३० जनाले रोजगारी पाएका छन् भने महिनाको २० लाख जतिको कारोबार हुन्छ । 

व्यवसायमा मौलिकता र फरकपन खोज्ने प्रेमले बुढानीलकण्ठमा घैंटे चियालाई नै नयाँ तरिकाले छिमेकी चुलो भनेर सञ्चालन गरिरहनुभएको छ ।

कोरियन रेस्टुरेन्ट

एकान्तकुनाको खरिबोटमा रहेको घैंटे चियाकै पारीपट्टी नयाँ रेस्टुरेन्ट खुलेको छ । त्यो बाटो ओहोरदोहोर गर्नेहरुको ध्यानै खिच्ने गरी खोलिएको त्यस रेस्टुरेन्टको नाम हो, कोरियन बारबिक्यु रेस्टुरेन्ट । यस रेस्टुरेन्टका सञ्चालक पनि प्रेम गुरुङ नै हुनुहुन्छ ।

व्यवसायमा देशको मौलिकता र लामो समय कर्मभूमि रहेको कोरियाको कला कतै न कतै उहाँले घोलिहाल्नुहुन्छ । कोरियन रेस्टुरेन्ट पनि त्यस्तै छ । नेपाली पञ्चैबाजादेखि कोरियाका मौलिक सामानहरु सजाएर राखिएका छन् । केही क्षणकै लागि भए पनि कोरियाको संस्कृति अनुभव लिन मिल्छ । कोरियाली पोसाकमा फोटो खिच्नेदेखि त्यहाँका सार्वजनिक फोनको संस्मरण जगाउने गरी टेलिफोन बुथ पनि बनाउनुभएको छ । रेस्टुरेन्टभित्र प्रवेश गर्ने बित्तिकै वेटरले देखाउने सत्कार र त्यहाँको ‘म्यानेजम्यान्ट’ले कोरियाकै कुनै व्यवस्थित रेस्टुरेन्टमा छिरेको आभास हुन्छ । शान्त खोज्नेहरुको लागि र रमाइलो तथा डिजे डान्स खोज्नेको लागि छुट्टाछुट्टै व्यवस्था छ । ठूलो एचडी पर्दामा भिडियो हेर्न मिल्छ । टेबुलमै चुल्हो सेट गरिएका छन् । 

प्रेमले एक वर्ष अगाडि कोरियन बारबिक्यु रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो । कोरियामा व्यवसाय गरिरहेका नेपाली उद्यमी र नेपाल फर्केकाहरुको एक टिम बनाएर उहाँले यो रेस्टुरेन्ट सञ्चालन गर्नुभएको हो । यहाँ पनि ३० जनाले रोजगारी पाएका छन् । भाषा सेन्टर, घैंटे चियादेखि कोरियन रेस्टुरेन्टसम्म सञ्चालन गर्न प्रेमले ८० जनालाई रोजगारी दिनुभएको छ । यही कुराले प्रेमलाई निकै खुसी मिल्छ ।

‘जति कमाए पनि मर्ने बेला आखिर कसैले केही लिएर जाने होइन ? केहीलाई रोजगारी दिन सकेको छु, यही कार्यले मेरो पहिचान बनेको छ, त्यो नै मेरो कमाइ हो’ उहाँ गर्वका साथ भन्नुहुन्छ ।


तस्बिर : प्रेम गुरुङ

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • Madan Pun

    June 3, 2023, 4:39 p.m.

    Best of luck Pream sir hjr ko class ma ni liyako thiy pass vayara Hal I m now in South Korea thanks 🙏

  •  0 Reply
  • usha

    June 2, 2023, 1:17 p.m.

    atyanta prerana dayi, marmasparshi anubhava,

  •  0 Reply

तपाईको प्रतिक्रिया