रूस–युक्रेनबीच शान्तिका लागि वार्ताकाे आयोजना गर्न दक्षिण अफ्रिका तयार

 जेठ २६, २०८० शुक्रबार ६:११:४५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

दक्षिण अफ्रिकाले आफू रूस र युक्रेनबीच शान्तिका लागि वार्ताकाे आयोजना गर्न तयार रहेको जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले वार्ता आयोजना गर्न तयार रहेको जनाउ दिएको हो ।

राष्ट्रपति सिरिल रामाफोसाले गएको महिना पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ६ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताउनुभएको थियो । यो वार्ता यसै महिना सुरू हुने अपेक्षा गरिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

रामाफोसाले गएको महिना घोषणा गरेको प्रतिनिधिमण्डलमा कङ्गो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन् । गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रूसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन् ।

दक्षिण अफ्रिका क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि आफ्नो तटस्थताको साखलाई कायम राख्न खोजिरहेको बेला शान्तिवार्ताको तयारीबारे जानकारी दिएको हो । रुसले अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया