तत्काल ठूलो वर्षाको सम्भावना छैन, अझै चार/पाँच दिन गर्मी यस्तै रहन्छ : मौसमविद्

 जेठ २६, २०८० शुक्रबार ७:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार/पाँच दिन गर्मी यस्तै रहने छ ।

तराईका धेरैजसो जिल्लामा चार/पाँच दिन नै तातो हावा लू चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उहाँले बताउनुभयो । फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने माैसमविद् लामिछानेले बताउनुभयो । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उहाँको भनाइ छ ।

तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नकटे पनि न्यूनतम तापक्रम र तातो हावा चल्दा उखरमाउलो गर्मी छ । हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुंगामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च थियो ।

दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । यस्तो अवस्था अझै केही दिन रहने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै, गर्मी बढेसँगै बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ ।

काठमाण्डौ उपत्यकासहित देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् । गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएको डाक्टरले बताएका छन् ।  

गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले खानपानमा ध्यान दिन पनि डाक्टरको सुझाव छ । गर्मीका बेला प्रशस्त शुद्ध पानी पिउन, बासी खानेकुरा नखान, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओड्न, छहारी तथा शीतल ठाउँमा बस्न, पातलो कपडा लगाउन जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको सुझाव छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया