विमान दुर्घटनामा परि हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला

 जेठ २७, २०८० शनिबार १३:४२:७ | एजेन्सी
unn.prixa.net

विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका  छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य  विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको बीबीसीले जनाएकाे छ ।

बीबीसीका अनुसार तेह्र,नाै,चार र एक वर्षका ती बालबालिका सहाेदर भाइबिहिनी हुन् । काेलम्बियाका राष्ट्रपति गुस्टाभाे पेट्राेले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएकाे बताउनुभएकाे छ । उहाँले याे दिन सम्पूर्ण देशबासीकाे लागि हर्षकाे दिन भएकाे बताउनुभएकाे छ । यसअघि राष्ट्रपति पेट्रोले मे १७ मै बालबालिका भेटिएको भन्दै ट्विटरमा जानकारी दिनुभएको थियो । तर पछि उहाँले पोस्ट डिलिट गर्नुभएको थियो । त्यतिबेला ती बालबालिकाले हिँडेका पाइलाका छाप र त्यहाँ वरपर गरेका क्रियाकलापका आधारमा जीवितै रहेकाे हुनसक्ने अनुमान गरिएकाे थियाे ।

ती बालबालिका गएकाे मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजाेनस प्रदेशकाे एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरकाे हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटकाे ज्यान गएकाे थियाे । ती तीन जनाकाे शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेकाे थियाे । तर चार जना बालबालिका भाैतारिँदै अनकन्टार जङ्गलमा गएकाे हुनसक्ने आशंकापछि काेलम्बियाई सेनाले खाेजी तीव्र पाररेकाे थियाे । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टाेलीले खाेजी गरेकाे थियाे । त्यहाँका स्थानीय बासिन्दा पनि खाेजी कार्यमा खटिएका थिए ।

यतिका लामाे समयसम्म जङ्गलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यकाे कुरा हाे । तर तिनीहरु स्थानीय ह्वीटाेटाे जाति तथा समुदायकाे भएकाे र उनीहरुलाई जङ्गली फलफुलकाे बारेमा जानकारी भएकाे र जङ्गलमै पनि बस्न सक्ने खुबी भएकाले जिवितै रहेकाे अनुमान गरिएकाे छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया