तनहुँमा 'लम्पी स्किन' विरुद्ध पशुलाई खोप लगाउन थालियो

 जेठ २९, २०८० सोमबार १०:१४:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । 

गाउँपालिकाले सात वटै वडामा पालिएका पशुलाई खोप लगाउन सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ । 

उहाँले भन्नुभयो, ‘व्यावसायिकरुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने किसानको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।’ प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।’

उहाँका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रूपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालन गरिएको छ । उहाँले भन्नुभयो, ‘यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।’

गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उहाँले बताउनुभयो । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरूसँग नरहेको डा. शाहको भनाइ छ । उहाँका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएका पशुको उपचार पनि भइरहेको छ । 

खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ । 

त्यस्तै पशु सेवा शाखाबाट डा. शाहलाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ । 

यस्तै आँबुखैरेनी गाउँपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ । गाउँपालिकाका सबै वडामा यो रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो । गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. सन्तोष देवकोटाले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने बताउनुभयो । 

खोप लगाउनका लागि वडा नम्बर १ र ६ मा अनिल थापा, वडा नम्बर २ र ३ मा चित्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ र ५ सम्पूर्ण थापालाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ । 

जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० वटाभन्दा बढी पशुमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उहाँको भनाइ छ ।

गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. शाहले बताउनुभयो । उहाँका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया